काठमाडौं । बैंकिङ क्षेत्रको स्रोतसाधन व्यापारिक क्षेत्रमा मात्र बढी देखिएको छ । सातवटा प्रदेशमध्ये जहाँको जनसंख्या अर्थात् भनौँ व्यावसायिक सम्भावना बढी छ, त्यहाँ बैंक तथा फाइनान्स कम्पनीहरूको शाखा संख्या बढी हुनुले पनि व्यापारिक क्षेत्रमा बैंकिङ क्षेत्रको उपस्थिति सबैभन्दा बढी देखिएको हो ।
राष्ट्र बैंकको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदनअनुसार २०८१ असार मसान्तमा प्रतिशाखा जनसंख्या दुई हजार पाँच सय २९ रहेकोमा गत असार मसान्तमा यस्तो संख्या बढेर दुई हजार पाँच सय ३० जना पुगेका छन् । प्रदेशगत तुलनामा गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा सबैभन्दा बढी बागमती प्रदेशमा तीन हजार ३८ रहँदा सबैभन्दा कम कर्णाली प्रदेशमा प्रदेशमा छ । त्यसैगरी कर्णाली प्रदेशमा जम्मा चार सय ७९ वटा शाखाहरू मात्र सञ्चालनमा छन् । २०८१ असार मसान्तमा यस्तो संख्या बागमती प्रदेशमा तीन हजार ३८ र कर्णाली प्रदेशमा चार सय ७५ थियो ।
प्रतिवेदनअनुसार गत असार मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या दुई करोड ७७ लाख पुगेको छ । २०८१ असार मसान्तमा बैंकिङ क्षेत्रमा दुई करोड ४६ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए । त्यसैगरी, २०८२ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा डेबिट कार्ड प्रयोगकर्ताको सख्या करिब एक करोड ३६ लाख पुगेको छ । राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा यस्तो कार्ड प्रयोगकर्ता ग्राहकको कुल संख्या एक करोड २९ लाख मात्र रहेको थियो ।
नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका बैंक तथा फाइनान्स कम्पनीहरूको कुल संख्या भने २०८१ असार मसान्तमा एक सय सातवटा रहेकोमा गत असार मसान्तमा पनि सोही संख्यामा बैंक तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा रहेका छन् । सोअनुसार गत असार मसान्तमा वाणिज्य बैंकहरूको संख्या २०, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५२ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । २०८१ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेप खाता संख्या करिब पाँच करोड ५८ लाख ९६ हजार पुगेको छ । यस अवधिमा कुल कर्जा खाताको संख्या भने करिब १८ लाख ९३ हजार रहेको छ । २०८२ असार मसान्तमा कुल निक्षेप खाता संख्या करिब पाँच करोड ९८ लाख ८१ हजार रहेकोमा कुल कर्जा खाता संख्या करिव १९ लाख ६१ हजार पुगेको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूमा करिव ५९ लाख ९५ हजार सदस्य र २६ लाख ६४ हजार ऋण खाता संख्या रहेको थियो । २०८२ असार मसान्तसम्ममा करिव ६२ लाख २१ हजार सदस्य र २७ लाख ७ हजार ऋणी रहेका छन् । यी लघुवित्त वित्तीय संस्थाहरूको सेवा देशका ७७ वटै जिल्लामा पुगेको राष्ट्र बैंकको भनाइ छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थाहरू समेत)को शाखा संख्या ११ हजार पाँच सय ३० रहेको थियो ।
यसअन्तर्गत वाणिज्य बैंकहरूको पाँच हजार ५६, विकास बैंकहरूको ११ सय ३५, फाइनान्स कम्पनीहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार ५१ वटा शाखा सञ्चालनमा रहेका थिए । २०८२ असार मसान्तमा भने वाणिज्य बैंकहरूको पाँच हजार ९९, बिकास बैंकहरूको ११ सय ३२, फाइनान्स कम्पनीहरूको दुई सय ९१ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार चार समेत गरी कुल ११ हजार पाँच सय २६ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।
राष्ट्र बैंकका अनुसार पछिल्लो अवधि अर्थात् चालू आवको असोज मसान्तसम्ममा भने वाणिज्य बैंकहरूको ५१ सय एक, विकास बैंकहरूको ११ सय ३४, फाइनान्स कम्पनीहरूको दुई सय ९१ र लघुवित्त संस्थाहरूको चार हजार नौ सय ८६ वटा समेत गरी कुल ११ हजार पाँच सय १२ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।
।