काठमाडौं । नेपालको पर्यटन सेवाको गुणस्तर वृद्धि गर्न नेपाल पर्यटन बोर्डले समुदायमा आधारित पर्यटन व्यवसायीलाई विभिन्न प्रशिक्षण दिइरहेको छ । सोही क्रममा कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य भेडेटार र अमाह सिमसार क्षेत्रका स्थानीय पर्यटन व्यवसायलाई होमस्टे र हाइजिनसम्बन्धी प्रशिक्षण संचालन गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले श्वाती संस्थासँग सहकार्य गरी प्रशिक्षण आयोजना गरिएको हो । अमाहा सिमसार, बराहक्षेत्र–५, सुनसरीमा गरिएको ‘होमस्टे व्यवस्थापन तथा पर्यटन–मैत्री सेवा क्षमता विकास’ तालिममा स्थानीयलाई होमस्टेको सम्भावना, दर्ता प्रक्रिया, सेवा संस्कार, आतिथ्य सत्कार, स्थानीय संस्कृति प्रस्तुति, विदेशी पर्यटकसँग व्यवहार, अंग्रेजी–हिन्दी संवाद अभ्यासदेखि डिजिटल माध्यममार्फत प्रचार–प्रसार गर्नेसम्म व्यावहारिक सिकाइ प्रदान गरिएको छ । श्वाती र अमाहा सामुदायिक वन समितिबीच भएको समझदारीले यस क्षेत्रको होमस्टे पर्यटनलाई व्यवस्थित र औपचारिक रूपमा अघि बढाउने आधार तयार गरेको बताईएको छ । श्वाती संस्थाका अध्यक्ष सङ्गीता निरौलाले स्थानीय पर्यटन प्रवद्र्धनका लागि गुणस्तरमा ध्यान दिनुपर्ने बताइन् । सामुदायिक वन समिति र वडा कार्यालयले कम्युनिटी होमस्टे दर्ता प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि अमाहा सिमसारमा पर्यटन विकासले नयाँ मोड लिने बताएका छन् ।
यसैबीच, धनकुटाको भेडेटार, सांगुरीगढी–६ मा ‘ग्राहक सेवा, हाइजिन र पर्यटन–मैत्री व्यवहार’ सम्बन्धी ५ दिने तालिमले स्थानीय होटल तथा होमस्टे व्यवसायीलाई सेवामा पेशागत सुधार ल्याउन उत्प्रेरित गरिएको छ । भारतबाट ठूलो संख्यामा आउने पाहुनालाई फेरी फेरी आउने वातावरण बनाउन सेवाको गुणस्तर उकास्नैपर्ने उल्लेख गर्दै गाउँपालिका अध्यक्ष जितेन्द्र राईले तालिमलाई अत्यन्त आवश्यक भएको बताए । होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुम्बा राज लिम्बूले होमस्टेहरूको तीव्र वृद्धि भए पनि ज्ञान र सीपमा कमी रहेको उल्लेख गर्दै तालिमले त्यो खाडल भरिदिएको बताए । तालिमपछि सरसफाइ, विशेषतः भान्सा र कर्मचारीको हाइजिनलाई प्राथमिकता दिने तथा गाउँपालिका र होटल एसोसिएसनले सिकाइको अनुगमन गर्ने औपचारिक संरचना बनाउने समेत सहमति भएको छ । यस कदमले भेडेटारको पर्यटन विकासमा टेवा पुर्याउने बताइएको छ ।
दिगो पर्यटन परियोजनाले यस किसिमका प्रशिक्षणले नेपालभर दुई हजार पाँच सय दिगो रोजगारी र पाँच हजार जनाको सीप अभिवृद्धि लक्ष्य राख्दै पर्यटन क्षेत्रलाई महामारीपछिको अवस्थामा पुनर्जीवित गर्ने उद्देश्य बोकेको छ । स्थानीयलाई प्रत्यक्ष रूपमा सीप, ज्ञान र आत्मविश्वास प्रदान गर्दै एसटीपीले नेपाललाई विश्व–स्तरको दिगो पर्यटन गन्तव्य बनाउन दीर्घकालीन योगदान पु¥याउने अपेक्षा गरिएको परियोजना प्रबन्धक धर्मराज दवाडीले बताए । अमाहा सिमसारमा कम्युनिटी होमस्टेको तयारी र भेडेटारमा पेशागत सेवाको गणस्तर वृद्धि गर्ने स्थानीय समुदायको प्रतिबद्धताले कोशी प्रदेशको पर्यटन विकासमा नयाँ ऊर्जा थपिएको उनले बताए । यस क्षेत्रमा स्थानीय समुदाय नै पर्यटन विकासको वास्तविक अग्रदूत बन्दै गएको पनि देखिएको छ ।