काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेज्यूको अध्यक्षतामा शुक्रबार अनुपम फुडल्यान्ड एन्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ । सो अवसरमा आव २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।
बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भइ स्वीकृत भएको छ । त्यसैगरी साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य नाफाबाट २०८२ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार नौ सय ६६ रुपैयाँको पाँच प्रतिशतले हुने ७३ करोड ८४ लाख ५० हजार चार सय ४८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश शून्य दशमलव २६ प्रतिशतले हुने तीन करोड ८८ लाख ६५ हजार आठ सय २३ रुपैयाँ सहित कुल ७७ करोड ७३ लाख १६ हजार चार सय ७१ रुपैयाँ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले आर्थिक वर्ष ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको १९ वर्षको औसत लाभांश १० दशमलव ४० प्रतिशत रहेको छ ।
सभाका अध्यक्षले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्ध रहेको कुरा जानकारी गराए । यसका साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पु¥याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डीजी बैंक सेवा’ नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन् नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६९ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट १९ लाख ५६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।