काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकसँग कुनै छलफल तथा परामर्श नै नगरी प्रभु बैंकका तीन उच्च अधिकारीलाई पक्राउ गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, सहायक प्रमुख कार्यकारी अधिकृत (डीसीओ) मणिराम पोखरेल र प्रमुख जोखिम अधिकृत (सीआरओ) रिवास श्रेष्ठलाई सीआईबीले आइतबार पक्राउ गरेको हो । ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा भन्दै उनीहरूलाई पक्राउ गरिएको हो ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । सीईओ शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुनविपरीत कार्य गरी प्रभु बैंकलाई हानि नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको सीआईबीको आरोप छ । उक्त कसुरमा संलग्न रहेकोले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ अनुमति लिई आइतबार पक्राउ गरिएको श्रेष्ठले बताए ।
‘बैंकलाई हानि/नोक्सानी पुर्याएर बैंकिङ कसुर गरी ‘कर्जा दुरूपयोग गरेको गरेको देखिएको आधारमा ती व्यक्तिहरूलाई पक्राउ गरेका हौँ’, प्रवक्ता श्रेष्ठले भने, ‘पक्राउ परेका सबै व्यक्तिहरूउपर थप अनुसन्धान भइरहेको छ ।’ यसअघि सीआईबीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा प्रभु म्यानेजमेन्टका पूर्वसेयरधनी तथा लेखा शाखामा कार्यरत हेमकुमार महाजुलाई पक्राउ गरेको थियो । बैंकका पूर्वअध्यक्ष देवी प्रकाश भट्टचन पनि यही मामिलामा सुरुमै पक्राउ परिसकेका छन् । पक्राउ परेका भट्टचन अहिले अदालतको आदेशअनुसार थुनामुक्त भइसकेका छन् ।
के भन्छ राष्ट्र बैंक ?
यसैबीच नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नियमनकारी निकायको हिसाबले कुनै पनि बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई अनुसन्धानको लागि नियन्त्रणमा लिँदा राष्ट्र बैंकसँग पनि समन्वय गरोस् भन्ने अपेक्षा रहेको बताए ।
‘विश्व बैंकिङ क्षेत्रमा पनि अनुसन्धानको लागि बैंकिङ क्षेत्रका कर्मचारीहरूलाई नियन्त्रण तथा धरकपड गर्दा बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकायसँग आवश्यक परामर्श र छलफल गर्ने प्राक्टिस रहेको हुन्छ । तर जहाँसम्म प्रभु बैंकका दुई उच्च अधिकारीको नियन्त्रणको विषयमा राष्ट्र बैंकसँग छलफल तथा परामर्श गरेको छ वा छैन, अहिले नै भन्न सक्ने अवस्था छैन’, प्रवक्ता पौडेलले आर्थिक दैनिकसँग भने ।
पछिल्लो समय प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट फन्डको गैरकानुनी कारोबारबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । ठाकुरप्रसाद मानन्धरलगायतले जाहेरी दिएपछि सीआईबीले अनुसन्धानलाई तीव्रता दिएको छ । सो क्रममा प्रभु म्यानेजमेन्ट प्रालिको नाममा रहेको सिटिजन बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट शंकास्पदरूपमा नौ लाख ९९ हजार पाँच सय रुपैयाँका दरले पटक–पटक रकम जम्मा गरेको पाइएको सीआईबीको भनाइ छ ।
शंकास्पदरूपमा रकम जम्मा भएको, रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेन्ट प्रालिले रेमिट रकम भुक्तानी मात्र गर्नुपर्नेमा प्रस्तुत कारोबारमा एकै दिनमा पटक–पटक शंकास्पद रकम जम्मा भएको देखिएको, प्रभु म्यानेजमेन्ट प्रालिको नाममा सञ्चालन भएको सिटिजन्स बैंकको खातामार्फत रेमिट कारोबारको आवरणमा अवैधरूपमा नेपालमा विप्रेषणबापत प्राप्त हुने रकम हुण्डीमार्फत प्राप्त गरी हिसाब मिलान गरेको देखिएको देखिएको आधारमा यअसघि भट्टचन तथा महाजु पक्राउ परेका थिए ।
तत्कालीन समयमा विदेशमा बसेका नेपालीहरूले पठाएको रकम भुक्तानी दिन सहकारीमार्फत विप्रेषणबापतको रकम भुक्तानी गराउने गरी २०६९ पुस १ गते प्रभु म्यानेजमेन्ट प्रालि र प्रभु मनि ट्रान्सफर प्रालिबीच करार सम्झौता भएको थियो । सोही समयदेखि रेमिट्यान्स कारोबारमा लगातार अनियमितता हुँदै आएको सीआईबीको निष्कर्ष रहेको छ ।