काठमाडौं । नेपालमा अनुमानित कुल एचआईभी सङ्क्रमितमध्ये ३३ प्रतिशत अझै उपचार बाहिर रहेको पाइएको छ । संक्रमितमध्ये ७७ प्रतिशतले भने एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेको पछिल्लो एक तथ्याड्ढले देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याड्ढअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआईभी सङ्क्रमण पुष्टि भएको छ । संक्रमणमध्ये अझै ३३ प्रतिशत उपचार बाहिर रहेको सो तथ्याड्ढले देखाएको छ । यसैगरी, सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार तीन सय ३७ व्यक्तिमा एचआईभी सङ्क्रमण भएको अनुमान छ । वयस्क जनसङ्ख्यामा शून्य दशमलव १३ प्रतिशत सङ्क्रमण(प्रिभ्यालेन्स दर) रहेको छ । केन्द्रले सार्वजनिक गरेको ‘एचआईभी फ्याक्ट सिट २०२५’का अनुसार सन् २०२४ को अन्त्यसम्ममा नेपालमा २६ हजार तीन सय ७२ सङ्क्रमितहरूले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् र अनुमानित कुल एचआईभीको सङ्क्रमितमध्ये ७७ प्रतिशत एआरभी उपचारररत छन् ।
सन् २०२४ मा छ सय १४ व्यक्तिमा एचआईभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ भने पाँच सय ६९ व्यक्तिहरूको एड्सका कारणले मत्यु भएको अनुमान गरिएको छ । सो वर्षमा ३७ बच्चामा (०–१४ वर्ष) नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । नेपालमा एचआईभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहहरू सुइद्वारा लागुपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मीहरू, कारागारमा रहेका कैदी बन्दीहरू, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशीनेहरू छन् । नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ अर्थात् ९५ प्रतिशत एचआईभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ ।
सरकारले हाल ६४ जिल्लाका ९६ एआरटी केन्द्रहरूबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुन सङ्क्रमण रोकथाम (पीएमटीसीटी) सेवा, पीएमटीसीटी कार्यक्रमा सञ्चालनमा छ, यसअन्तर्गत स्वास्थ्य संस्थामा गर्भवतीमा एचआईभी निःशुल्क जाँच सुविधा छ । विश्वमा एड्सको अवस्था सन् २०२४ को अन्त्यसम्म संसारमा चार करोड आठ लाख व्यक्तिमा एचआईभी सङ्क्रमित रहेको अनुमान छ । विश्वमा हरेक दिन तीन हजार छ सय मानिस एचआईभी सङ्क्रमित हुने गरेका छन् । यस वर्ष ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ३८औं विश्व एड्स दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ ।