वैकल्पिक ऊर्जाको प्रयोग अपेक्षित रुपमा नहुँदा वन विनाश वा वातावरणमा नकारात्मक प्रभाव पर्नु, यस किसिमको ऊर्जाको प्रयोगको चेतना नहुनु, बायोग्याँस र सरसफाइ कार्यक्रमहरु एकीकृत रुपमा सञ्चालन हुन नसक्नु र यस सम्बन्धी संस्थागत संरचनाहरु सबल नहुनु यस क्षेत्रमा देखिएका प्रमुख चुनौती हुन् । वैकल्पिक ऊर्जाको विकास गरी ग्रामीण जनताको घरायसी आवश्यकता तथा पेशागत व्यावसायीकरणका लागि ऊर्र्जा आपूर्ति गर्न, कम लागतमा विद्युत् उत्पादन गरी ग्रामीण जनतालाई उपलब्ध गराउन, वैकल्पिक ऊर्जाको ग्रामीण जनताको जीवनस्तर उठाइ गरिबी निवारण गर्ने सशक्त माध्यमको रुपमा प्रवर्द्धन एवं विस्तार गर्नु आवश्यक भएको छ । खासगरी हाल खपत भइरहेको ऊर्जा प्रविधिमध्ये अधिकांश परम्परागत स्रोतहरुबाट नै आपूर्ति भएको हुँदा दाउरामाथिको चापलाई क्रमशः घटाउँदै लैजानका निम्ति वैकल्पिक ऊर्जा प्रविधि अत्यन्तै सान्दर्भिक देखिन्छ । विशेषगरी ग्रामीण क्षेत्रमा इन्धनको समस्या दिन–प्रतिदिन जटिल बन्दै गइरहेको छ । ऊर्जाको परिपूर्तिका लागि सारा जङ्गल मासिँदैछन् । ऊर्जाको क्षेत्रमा आएको असन्तुलनले पर्यावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पार्ने सम्भावना बढिरहेको छ ।
ऊर्जाका स्रोत तथा प्रविधिहरूलाई मुख्यतया दुई वर्गमा विभाजन गर्ने गरेको पाइन्छ । यी हुन्– परम्परागत ऊर्जाका स्रोतहरू र वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोतहरू । कोइला, ग्याँस, खनिज तेल आदि परम्परागत ऊर्जा तथा नवीकरणीय ऊर्जामा पर्दछ । यी मध्ये केही वैकल्पिक ऊर्जाका स्रोतहरू र तीसँग सम्बन्धित प्रविधिहरूलाई यहाँ छोटकरीमा उल्लेख गर्ने प्रयास गरिएको छ । नेपालमा ऊर्जाका स्रोतलाई परम्परागत, व्यापारिक र नवीकरणीय गरी तीन प्रकारले वर्गीकरण गरेको पाइन्छ । परम्परागत स्रोतअन्तर्गत दाउरा, कृषि अवशेष तथा गुइँठालाई राखिएको छ भने व्यापारिक स्रोतअन्तर्गत कोइला, विद्युत् र पेट्रोलियम पदार्थलाई राखिएको छ ।
ऊर्जाको वर्तमान अवस्था र स्थिति
(१) जलविद्युत् शक्ति : पानीलाई उचाइबाट खसालेमा त्यसबाट शक्ति निस्किन्छ र सो शक्तिलाई विभिन्न काममा प्रयोग गर्न सकिन्छ । यसरी उचाइबाट खसालेको पानीमा भएको शक्तिलाई नै जलशक्ति भनिन्छ । जलशक्ति चीरकालसम्म रहिरहने शक्तिको एउटा भरपर्दो खण्डमा सात खण्ड त पानी नै पानीले ढाकिएको छ । जलशक्तिको उपयोग झण्डै २२ सय वर्ष अघिदेखि भएको मानिन्छ । नेपाल ८३ हजार मेगावाटको धनी जलस्रोतको देश भएपनि जलविद्युत् शक्तिको कम मात्र विकास भएको छ । यसमध्ये ४२ हजार मेगावाट आर्थिक दृष्टिकोणबाट उत्पादन गर्न सम्भव देखिन्छ ।
(२) गोबर ग्याँस अथवा बायो ग्याँस : गोबर ग्याँस एक किसिमको गन्धरहित निलो, सफा, ज्वाला रहित बल्ने मिथेन ग्याँस हो । यो खाना पकाउन र बत्ती बाल्न अति उपयुक्त हुन्छ । यसलाई दाउराको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । यो ग्याँस विषालु हुँदैन र बाल्दा धुवाँ आउँदैन । गोबर ग्याँस मुख्यतया गाई भैंसीको गोबर कुहाई उत्पादन गरिन्छ । त्यसका लागि एउटा प्लान्ट (संरचना) नै निर्माण गर्नुपर्छ । यस प्लान्ट (संरचना) मा हरेक दिन तोकिएको परिणाममा गोबर, पानीको घोल हालेमा यसबाट ग्याँस उत्पादन हुन्छ र स्लरी (लेदो) मल बाहिर आउँछ । गोबर ग्याँस प्लान्ट (संरचना) विभिन्न प्रकारका हुन्छन् र यसको क्षमता पनि अलग–अलग हुन्छन् । नेपालका गाउँ घरमा विगत १८ वर्षदेखि दुई प्रकारको गोबर ग्याँस प्लान्ट निर्माण हुँदै आएका छन् ।
(३) सौर्य ऊर्जा : सौर्य ऊर्जा बारम्बार नवीकरण हुन सक्ने ऊर्जाको स्थायी स्रोत हो । परापूर्वकालदेखि नै मानिसहरूले सूर्यबाट प्राप्त हुने शक्तिलाई विभिन्न किसिमको कामहरूमा प्रयोग गर्दै आएका छन् । जाडोमा घाम ताप्न, अन्न, विस्कुट, कपडा, दाउरा आदि वस्तुहरू सूर्यकै तापले सुकाउने गर्दछ ।
(४) वायुशक्ति अथवा हावा ऊर्जा: नेपालमा हावा ऊर्जाबाट सञ्चालित उद्योगधन्दाहरूको त्यति विकास भएको छैन । तर, यस्तो ऊर्जाको प्रयोग भने गर्न सकिन्छ । हावा ऊर्जाबाट बिजुली निकाल्ने तथा मिलहरू सञ्चालन गर्न सकिन्छ । धवलागिरी अञ्चलको मुस्ताङ जिल्लामा हावाबाट बिजुली निकाल्ने नेपालको पहिलो योजना विगत केही वर्ष अगाडि पूरा भएको छ । करीब ६० लाख रूपैयाँको लगानीमा तयार भएको उक्त योजनाबाट २० किलोवाट बिजुली उत्पादन गरी कागवेनी गाउँ विकास समितिका ७० घर परिवारलाई विद्युत् सेवा उपलब्ध गराएको देखिन्छ ।
(५) सुधारिएको चुल्हो : परम्परागत चुल्होमा भन्दा यसमा निकै कम धुँवा निस्कने र यसको कार्यदक्षता पनि २०–२५% बढी हुने गरेको देखिन्छ । निम्नस्तरको वायोमासको इन्धनको परम्परागत प्रयोगले घरायसी वातावरण निकै प्रदुषित बनाएको हुन्छ । ग्रामीण क्षेत्रका र त्योभन्दा बढी गरिब जनताहरु विशेष गरी यसको सिकार भइरहेका छन् । जसका कारण उच्च बालमृत्युदर र बालरोगको प्रकोप निकै छ । सन् १९८२ यता नेपालमा एक लाख एकचालिस हजार पाँच सय ५५ सुधारिएको चुल्होको वितरण भइसकेको छ । यी सुधारिएको चुल्होहरुमा ''Potter Liner Stoves'', ''Fixed Mud Brick Stoves'', सुधारिएको स्टोभ, RECAST One and Two Pothole Stoves र 'Raised Second Pothole Stove. आदि हुन् । ग्रामीण क्षेत्रमा विभिन्न संस्थाहरुको अगुवाइमा यी चुल्होहरुको निर्माण गराइ रोजगारी बढाउने कार्य पनि भएको छ । यसको सबभन्दा सकारात्मक पक्ष भनेकै सरल र सानो तालिमबाट स्थानीयस्तरमा पनि निर्माण गर्न सकिने प्रविधि हो ।
(६) भू–तापीय ऊर्जा : नेपाल भौगोलिक रुपबाट विकसित र आर्थिक दृष्टिकोणले गरिब मुलुक मानिए तापनि प्राकृतिक स्रोत, सम्पदा र ऊर्र्जाको भण्डारको हैसियतले सम्पन्न मानिन्छ । देशको कुल जनसंख्याको ८५% जनता ग्रामीण क्षेत्रमा नै बसोबास गर्दछन् र तीमध्ये पनि झण्डै ८०% ले कृषि व्यवसायमा नै निर्भर रहनुपर्ने भएकोले यस क्षेत्रको विकासमा ऊर्र्जाको महत्वपूर्ण योगदान रहन गएको छ । देशको अर्थतन्त्रको समग्र विकासमा समेत टेवा पुर्याउँदै आएको कृषि क्षेत्र ऊर्र्जाको व्यवस्थित विकास र प्राप्त श्रोतहरुको परिचालनको अभावमा वैज्ञानिक तथा युग सुहाउँदो रुपबाट माथि उठ्न नसकिरहेको अवस्थालाई नवीकरणीय तथा वैकल्पिक ऊर्र्जाका सबै श्रोतहरु प्रिचालन गर्नु टड्कारो आवश्यकता देखिन्छ ।
(७) अनवीकरणीय ऊर्जा : एक पटक प्रयोग भइसकेपछि सामान्यतया पुनः प्रयोग गर्न नसकिने वा तत्काल पुनः स्रोतको रुपमा नरहने प्रकृतिका ऊर्जालाई अनवीकरणीय ऊर्जाको रुपमा लिइन्छ । प्रयोग वा उपभोग सँगसँगै त्यस्तो ऊर्जाको स्रोतको निर्माण नहुने वा नभए पनि स्रोत निर्माणका लागि सयौं वर्ष लाग्न सक्दछ । जीवास्म इन्धन, आणविक ऊर्जा, प्राकृतिक ग्याँस कोइला आदि ।
आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा स्वच्छ ऊर्जा अन्तर्गत मुलुकको समृद्धिमा योगदान पु¥याउन जलस्रोतको दिगो उपयोग, ऊर्जा क्षेत्रको अनुसन्धान र विकासमा जोड दिइनुका साथै नदी बेसिन गुरुयोजनाअनुरूप जलस्रोतको महत्तम उपयोग, संरक्षण र नियमन गरिने कार्यक्रम राखिएको छ। भूमिगत जलस्रोतको उपयोग र व्यवस्थापनको लागि जलसतह मापन तथा डिजिटाइजेसन गरिने कार्यक्रम राखिएको छ ।
जलविद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गरिनुका साथै ऊर्जा सुरक्षाका लागि विद्युत् उत्पादनलाई विविधीकरण गरिने नीति लिइएको छ । जलाशययुक्त ठूला आयोजनाको निर्माणलाई उच्च प्राथमिकता दिइने र जलविद्युत् सर्भेक्षण, उत्पादन, प्रसारण र वितरणमा निजी क्षेत्रको लगानी प्रोत्साहित गरिने कार्यक्रम राखिएको छ । ऊर्जा मिश्रणको लागि लघु तथा साना जलविद्युत्, सौर्य तथा वायु ऊर्जाको विकास गरिनुका साथै औद्योगिक तथा गार्हस्थ ग्राहकको लागि ऊर्जाको माग र खपत समयको आधारमा फरक फरक महसुल निर्धारण गरिने नीति लिइएको छ । विद्युत् आपूर्तिको भरपर्दो व्यवस्था गरी आन्तरिक ऊर्जा खपत बढाइनुका साथै आगामी दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको बाँकी काम सम्पन्न गरिने नीति लिइएको छ । ऊर्जा उत्पादन वृद्धिको आधारमा विद्युत् निर्यात सुनिश्चित गर्न छिमेकी तथा अन्य सम्भाव्य मुलुकहरूसँग कूटनीतिक पहल गरिनुका साथै क्षेत्रीय विद्युत् बजारमा नेपालको उपस्थितिलाई सुदृढ गरिने नीति लिइएको छ ।(भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) अर्थशास्त्रका सह–प्राध्यापक तथा अधिवक्ता हुन् ।)