काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) को बिक्री खुल्ला भएको छ । कम्पनीले आइतबारबाट आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाका लागि साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् दुई अर्ब रुपैयाँको दुई करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । सो मध्ये आयोजना प्रभावित स्थानीयका लागि एक करोड कित्ता सेयर छुट्याइएको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका १ का स्थानीयबासीलाई ४० लाख कित्ता, यी दुई पालिकाका ती वडाबाहेक अन्य वडालाई ६० लाख कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारमा रहेकालाई १० लाख कित्ता सेयर छुट्याइएको छ । प्रभावित र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार आयोजना प्रभावितका लागि छिटोमा मंसिर २१ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण सेयर बिक्री नभएमा पुस ७ गतेसम्म आवेदन खुल्ने छ । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई छिटोमा मंसिर १० र सो अवधिसभित्र सम्पूर्ण सेयर बिक्री नभएमा मंसिर २१ गतेसम्म आवेदन खुल्नेछ ।
प्रभावितले ग्लोबल आईएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सन्राइज बैंकको नेले शाखा तथा तल्लो सोलु जलविद्युत् आयोजना कार्यालयमा विवरणपत्र प्राप्त गर्न तथा फारम भरेर बुझाउन सक्नेछन् । यसैगरी वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।