काठमाडौ । संस्कृति स्पोट्र्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी गुलशन झा सम्मानित भएका छन् । खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप झालाई नगद एक लाख एक हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको हो ।
संस्कृति इन्टरनेसनल स्कुलको वार्षिक स्पोट्र्स डेको अवसरमा आयोजित विशेष समारोहमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले झालाई सम्मानपत्र र नगद रकम हस्तान्तरण गरेका हुन् । हरेक वर्ष खेलकुद पत्रकार मञ्च र संस्कृति स्कुलले संयुक्त छनौट गर्दै पुरस्कार वितरण गर्ने गरिएको जनाइएको छ । संस्कृति स्कुलले यसअघि पनि विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यसअघि पहिलो संस्करणमा धाविका सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा क्रिकेट खेलाडी कुशल मल्ल र तेस्रो संस्करणमा पलेशा गोवर्द्धनलाई संस्कृति स्पोट्र्स सम्मान प्रदान गरिसकेको जनाएको छ ।