काठमाडौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र भारतको मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे) बीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
लेखा, लेखापरीक्षण, वित्त कर तथा यससँग सम्बद्ध विषयहरूको शिक्षण, सिकाइ, अध्ययन तथा अनुसन्धान, पेसागत विकास, स्रोतसाधनको आदानप्रदान तथा संस्थागत सञ्जाल विस्तारमार्फत शैक्षिक तथा व्यावसायिक उत्कृष्टता अभिवृद्धि गर्ने उद्देश्यले आपसी सहकार्य तथा सहयोग आदानप्रदान गर्नको लागि यो समझदारी गरिएको हो । सातदोबाटोस्थित आईक्यानको प्रधान कार्यालयमा आयोजित समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगर र मणिपाल विश्वविद्यालय जयपुरका अध्यक्ष डा. नीति निपुण शर्माले हस्ताक्षर गरेका छन् । सम्झौताले दुई संस्थाबीच सहकार्यका लागि शैक्षिक पहुँच तथा योग्यताको पारस्परिक मान्यता, संयुक्त अनुसन्धान र शैक्षिक विकास, विशिष्टीकृत शैक्षिक मोड्युलहरू, स्रोत–साधनको पहुँच, प्राध्यापक, विशेषज्ञ तथा विद्यार्थी आदान–प्रदानलगायत प्रयोजनको लागि संयुक्त समन्वय संयन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
आईक्यानका अध्यक्ष मगरले यो समझदारी अनुसार आईक्यानका सदस्यहरूले एमयूजेमा एमकम डिग्री हासिल गर्ने र आफ्नो शैक्षिक तथा अनुसन्धान–उन्मुख करिअरलाई थप विकास गर्ने अवसर पाउने बताए । साथै, यो सहकार्यलाई कृत्रिम बुद्धिमत्ता, माइक्रो लर्निङ र अन्य उन्नत शैक्षिक नवप्रवर्तनजस्ता भविष्य–केन्द्रित क्षेत्रहरूमा पनि विस्तार गर्ने उल्लेख गरे । यो सहकार्यले संस्थाका सदस्य र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक तथा प्राविधिक ज्ञान हासिल गर्न र विश्वव्यापीरूपमा प्रतिस्पर्धी बन्न ठूलो मद्दत पुग्ने उनको भनाइ छ ।
एमयुजेका अध्यक्ष डा. नीति निपुण शर्माले एमयूजेमा आईक्यानका प्रतिनिधिलाई एमयुजेमा गेस्ट लेक्चरको रूपमा सहभागी गराउन र अर्थपूर्ण शैक्षिक आदानप्रदानलाई सहज बनाउन तत्पर रहेको बताए । ‘यो त सुरुआत मात्र हो, हामीले यो कार्यक्रमलाई विस्तार गर्ने र प्रभावकारी तरिकाले अगाडि बढाउने परिकल्पना गरेका छौँ,’ उनले भने । यो साझेदारीले आईक्यानका सदस्यहरू र एमयुजेका विद्यार्थी तथा संकाय दुवैलाई प्रत्यक्ष लाभ तथा ज्ञान आदानप्रदान, शैक्षिक सुदृढीकरण र पारस्परिक मान्यताका अवसरहरूले महत्वपूर्ण योगदान पुर्याउने जनाइएको छ ।