काठमाडौँ । लागूऔषध खैरो हिरोइन र नगदसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलमा लागूऔषध बिक्रीवितरण तथा ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले सिन्धुली घर भई काठमाडौँको नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ५४ हजार ६०० नगद र ५।८२ ग्राम लागूऔषध खैरो हिरोइनसहित लाखेलाई पक्राउ गरिएको जानकारी दिए । उनका साथबाट प्रहरीले एक थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका लाखेलाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।