काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
आयोगले सोमबार बहादुर भवन, कान्तिपथमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा कार्यलयको स्थापना गरेको हो । कार्यालयको उघाटन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले गरेका थिए । आयोगको मंसिर १२ गतेको निर्णयअनुसार समानुपातिकतर्फका निर्वाचन अधिकृतका रूपमा तोकिएका आयोगका सचिव महादेव पन्थले सोमबारबाट आफ्नो जिम्मेवारी सम्हालेका छन् । सो प्रणालीअन्तर्गत सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराई तोकिएका छन् । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ जना कर्मचारी परिचालन गरिने आयोगले जनाएको छ ।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचनसँग सम्बन्धित सबै कार्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सञ्चालन हुने बताए । कानुनअनुसार सूत्रात्मक विधिबाट राष्ट्रिय तथ्याड्ढ कार्यालयको सहयोगमा जातीय, भौगोलिक, लैङ्गिकलगायतका समूह छुट्याएर प्रतिनिधि छनोट गरिने भएकाले सबै पक्षको भरोसा कायम रहने उनको भनाइ थियो । कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा, तथा आयोगका सचिव महादेव पन्थ उपस्थित थिए ।
यसैगरी सोमबार नै अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिल कुमार सिन्हाले आयोगमा उपस्थित भई आगामी निर्वाचनका पूर्वतयारी तथा सरकारी सहयोगसम्बन्धी विषयमा आयोगका पदाधिकारीसँग छलफल गरेका थिए । छलफलमा अर्थमन्त्री खनालले निर्वाचनका लागि आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभारसमेत सम्हालिरहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सिन्हाले निर्वाचन सफलताका लागि आवश्यक कानुनी सहयोग उपलब्ध गराइने उल्लेख गर्दै स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेका थिए । आयोगका अनुसार छलफलले आगामी प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न थप सहजीकरण भएको छ ।