काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ, नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल भएको हो ।
त्यस अवसरमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले वैदेशिक रोजगार व्यवसायसँगै सेवा पनि भएकाले श्रमिकको सर्वोत्तम हितका लागि तीन तहकै सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
साथै उनले वैदेशिक रोजगार सेवा शुल्कबारेमा छलफल गर्न तीन तहकै प्रतिनिधि र मन्त्रालयको वैदेशिक रोजगार महाशाखाको संयोजनमा छलफल समिति बनाउन आग्रह गरे । स्वास्थ्य व्यवसायी महासंघका महासचिव कृष्णप्रसाद बजगाईँले हालसम्म सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको बताए । व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले स्वास्थ्यका नाममा एक प्रकारको सिन्डिकेट देखिएको बताए ।