काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २० गतेदेखि सञ्चालन हुने भएको छ ।
उक्त कार्यक्रम सञ्चालनका लागि आयोगले सोमबारदेखी कार्यलय नै स्थापना गरेर तयारी सुरु गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरिएको छ । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्न सक्नेछन् । मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ । आगामी पुस १३ र १४ गते उम्मेद्वारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेद्वारहरुको बन्दसूची अन्तिम प्रकाशन हुनेछ ।
समानुपातिकतर्फको निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव महादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईले जिम्मेवारी बहन गरेका छन् । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटिने छन् ।