काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निर्यात क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
निर्यात व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उनले उद्योग तथा व्यापारीले उठाएका विषयमा सरकारको सकारात्मक ध्यानाकर्षण भएको बताएका हुन् । निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएको थियो । महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले मंगलबार अर्थमन्त्री खनाललाई भेटेर निर्यात अनुदान रोकिएको विषय तथा निर्यात क्षेत्रमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएको हो । निर्यात अनुदान रोकिँदै आएको अवस्था, प्राविधिक तथा प्रशासनिक अवरोध, निर्यात प्रवद्र्धनसँग सम्बन्धित नीतिगत समस्याको समाधानका लागि अर्थमन्त्रीलाई आग्रह गरेको अध्यक्ष घिमिरेले बताए । उक्त कार्यक्रममा पूर्वसांसद गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासङ्घका निर्यात सभापति नरेशलाल श्रेष्ठ, हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, साना तथा घरेलु उद्योग महासङ्घका उपाध्यक्ष शान्ता बाँस्कोटा कोइराला, निर्यात व्यवसायी महासङ्घका उपाध्यक्ष किरण डङ्गोललगायतको सहभागिता रहेको थियो ।