काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई आफूलाई उग्रवादी समूहको कमान्डर बताउन रुचाउने प्रकाश पाठकले हत्या गर्ने धम्की दिएका छन् । त्यसरी राईलाई हत्या गर्न सुपारी दिएको आरोपमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । आयोगको इमेल ठेगनामा एक पत्र पठाई १० दिनभित्र पदबाट राजीनामा नदिए प्रमुख आयुक्त राईलाई हत्या गर्ने धम्की दिएका हुन् ।
एक्टभिस्टी गु्रप अफ नेपाल (ईजीएन)ले पठाएको मृत्युदण्ड दिने भनी उल्लेख गरिएको सूचीमा अख्तियार प्रमुख राईको अलावा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, नेपाल आयल निगमका पूर्वप्रबन्ध निर्देशक गोपालबहादुर खड्का, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ, नेपाल प्रहरीका पूर्वआईजीपीत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द्र ठकुरीको नाम रहेको छ ।
एक्सट्रिमिस्ट गु्रप अफ नेपाल (ईजीएन) समूहको नाइके मानिएका प्रकाश पाठक काभ्रेको तामेल १ सस्यूखर्कको स्थायी बासिन्दा रहेको थाहा भएको छ । उनी राजनीतिकरूपमा माधव नेपाल नेतृत्वको विघटित नेकपा एकीकृत समाजवादीको भातृ संस्था मानिने युवा संघ नेपालसँग सम्बद्ध रहेको बुझिएको छ । अख्तियार प्रमुख राईलगायत १० जनालाई १० दिनभित्र हत्या गर्ने योजना सार्वजनिक गर्नुअघि आफ्नो परिवारलाई राजधानी काठमाडौंमा बसोवासको व्यवस्था मिलएर छिमेकी मुलुक भारततर्फ लागेको समाचार स्रोतहरूले उल्लेख गरेका छन् । अख्तियार प्रमुख राईलगायतलाई हत्या गर्ने योजना सार्वजनिक गर्नुअघि पाठकलाई उक्त हत्या योजनाका लागि सहयोग गरेको खुलेपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारमा तैनाथ प्रहरीले बुधबार दिउँसो राजधानीबाट पक्राउ गरेको छ ।
उनीभन्दा पहिला पाठक समूहका तीन जना व्याक्ति पक्राउ परेका छन् तर प्रहरीले उनीहरूलाई पक्राउ गरेको विवरण सार्वजनिक गरेको छैन । पक्राउ परेका मध्ये एक तोरणबहादुर थापाको बयानका आधारमा बुधबार महानिर्देशक अधिकारी पक्राउ परेका हुन् । पक्राउ परेका थापाले महानिर्देशक अधिकारीको योजना र आर्थिक सहयोगमा आफूहरूको समूहले अख्तियार प्रमुख राईलगायत १० जनाको हत्याको योजना सार्वजनिक गरेको प्रहरीसमक्ष साबिती बयान दिएपछि उनकै प्रारम्भिक बयानको आधारमा महानिर्देशक अधिकारी पक्राउ परेका हुन् । नेकपा एमाले विभाजन हुनुपूर्व नेकपा एमालेको शुभेच्छुक संस्थाको रूपमा रहेको प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको अध्यक्ष समेत रहिसकेका अधिकारी नेकपा एमाले विभाजन भएपछि बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने सर्तमा प्रेम आले पर्यटन मन्त्री हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा वरियता मिचेर नियुक्त भएका थिए । पछिल्लो समय उनीमाथि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ११ अर्ब रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एक उपसमिति गठन गरी त्यस्को विस्तृतरूपमा अध्ययन गरेर कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको भए पनि अख्तियार प्रमुख राईको नरम भावका कारण उनीविरुद्ध मुद्दा पर्न सकेको थिएन र अहिले उनै संरक्षित अधिकारीले लगानी गरेर एउटा आतंककारी संगठन नै खडा गरेर अख्तियार प्रमुख राईलगायतका १० जनाको हत्या गर्ने योजना सार्वजनिक भएको छ । आफूलाई उक्त संगठनको प्रमुख बताउने पाठकले आफू सुरक्षित ठाउँमा रहेकाले कसैले पक्राउ गर्न नसक्ने भिडियो सन्देश पनि सार्वजनिक गरेका छन् । उक्त भिडियो सन्देशमा मृत्युदण्ड दिन लागिएका १० जना जहाँ भए पनि आफ्ना लडाकुले मारेरै छाड्ने दाबी गरेका छन् ।
भ्रष्टाचारमा हालियो मुद्दा
यसैबीच, पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीसमेत छ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक भण्डारीसमेत छ जना र अभियन्त्र कन्सल्टिङ् प्रालि उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको हो ।नलिञ्चोकमा हेलिपोर्ट निर्माण प्रक्रियामा व्यापक अनियमितता र कानूनी प्रावधान उल्लङ्घन भएको ठहर गर्दै आयोगले उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगको विज्ञप्तीमार्फत जानकारी दिइएको हो । महानिर्देशक अधिकारीसहित मुरारी भण्डारी, नल विक्रम थापा, समृद्धि श्रेष्ठ, गुरुदत्त अधिकारी तथा अभियन्त्र कन्सल्टिङ प्रालिका व्यवस्थापक विजय थापामाथि भ्रष्टाचार ऐन अनुसार सजाय माग्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
दायर गरिएको आरोपपत्रमा परामर्शदाताको छनोटदेखि अध्ययन प्रतिवेदन तयार गर्ने कार्यसम्मकै चरणमा नियमविपरीत काम गरी रु १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबरको हानी पुग्ने गरी भ्रष्टाचार गरिएको दाबी गरिएको छ । आयोगकाअनुसार हेलिपोर्ट निर्माणका लागि अनिवार्य हुने सम्भाव्यता अध्ययन नगरी बदनियतपूर्वक प्रक्रिया अगाडि बढाइएको, कानूनी स्वीकृति नलिई प्राविधिक तथा वित्तीय प्रस्ताव माग गरिएको, अनुभवहीन परामर्शदाता फर्मलाई मिलेमतोमा छनोट गरिएको र विस्तृत परियोजना प्रतिवेदन समेत पूर्णरूपमा नबनाई खरिद प्रक्रिया अघि बढाइएको पाइएको छ । अनुसन्धानबाट प्राप्त विवरणअनुसार इञ्जिनियर समृद्धि श्रेष्ठ र तत्कालीन निर्देशक मुरारी भण्डारीले हेलिपोर्टको सम्भाव्यता अध्ययन स्वीकृत गराएपछि पनि वास्तविक अध्ययन नगरी लागत अनुमान तयार पारी परामर्श सेवा खरिद प्रक्रियामा प्रवेश गराएका थिए । सार्वजनिक खरिद ऐन तथा नियमावलीले माग गरेका ‘स्पेसिफिकेसन’, योजना, डिजाइन, खरिद गुरुयोजना, वार्षिक खरिद योजना तथा बजेट स्वीकृति झनै बिना नै निर्माण प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।त्यस्तै, हेलिपोर्ट जस्तो संवेदनशील संरचना निर्माणमासरकारको पूर्व स्वीकृति तथा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य भए पनि कुनै प्रक्रियागत अनुमति नलिइएको प्रमाणित भएको आयोगको भनाइ छ ।अख्तियारले बुधबार दायर गरेको आरोपपत्रमा सार्वजनिक सम्पत्ति हानी–नोक्सानी, बदनियतपूर्ण निर्णय, कानूनी प्रावधान उल्लङ्घन तथा मिलेमतोद्वारा भ्रष्टाचार गरेको ठहर गर्दै सबै प्रतिवादीविरुद्ध कारबाहीको माग गरेको छ ।