काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालको उच्च अदालतले टुंग्याएको मुद्दा पुनः सर्वोच्च अदालतमा प्रवेश गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवाललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो ।
सिलवालले नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । तर अख्तियारले फैसलामा चित्त नबुझेको भन्दै बुधबार पुनरावेदन दर्ता गरेको छ । सिलवालउपर २०७७ माघ २० गते प्राधिकरणको अध्यक्षमा नियुक्ति पाउन आफ्नो जन्ममिति किर्ते गरेको आरोप छ । २०१५ साउन १५ गते जन्ममिति भए पनि २०१६ कात्तिक २२ गते भनी पछिबाट लिएको नागरिकताको प्रमाणपत्र पेस गरेको, उमेर ढाँटी झुटा विवरणको वैयक्तिक विवरण पेस गरी नेपाल बीमा प्राधिकरणको अध्यक्षको ओहदामा नियुक्त भएको अख्तियारको आरोप छ ।
सिलवालले २०१८ कात्तिक २४ गतेको जन्ममिति कायम गरी राहदानी विभागमा करिब तीन वर्ष उमेर घटाई झुट्टा विवरण पेस गरी कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गरेको अख्तियारको जिकिर छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा ९१० बमोजिमको कसुरमा थप सजाय हुनुपर्ने अख्तियारको दाबी छ । यस्तै २०८० साउन १५ गतेदेखि लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार एक सय ५४ रुपैयाँ १६ पैसा उसुलउपर गर्न पनि माग गरिएको छ । अख्तियारको मागदाबी विशेष अदालतको फैसलाबाट अस्वीकृत भएको थियो भने २०८१ पुस २ गते सिलवालले सफाइ पाएका थिए ।