काठमाडौं । बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा अर्थात् एनपीएलको अनुपात लगातार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकिङ क्षेत्रको औसत निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा तल रहेको थियो । तर चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भने यस्तो कर्जाको अनुपात लगातार बढेर पाँच प्रतिशत नाघेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितका कुल ५४ संस्थाले ७५ खर्ब २२ अर्ब नौ करोड १० लाख रुपैयाँँ निक्षेप संकलन गरेका छन् । त्यस्तै ५६ खर्ब ६३ अर्ब ३८ करोड ३० लाख रुपैयाँँ कर्जा प्रवाह गरेका छन् । तर औसतमा पाँच दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ६६ खर्ब ६२ अर्ब २६ करोड २० लाख रुपैयाँँ निक्षेप संकलन गरी ५२ खर्ब ८७ अर्ब ९७ करोड ४० लाख रुपैयाँँ कर्जा प्रवा गर्दा औसतमा चार दशमलव ४२ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो ।
वाणिज्य बैंकहरूले मात्र चालू आवको पहिलो त्रैमासमा कुल ६७ खर्ब ५९ अर्ब २५ करोड रुपैयाँँ निक्षेप संकलन गरी ५० खर्ब ३२ अर्ब ८७ करोड ९० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा पाँच दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूले कुल ५९ खर्ब २५ अर्ब ७३ करोड ४० लाख रुपैयाँँ निक्षेप संकलन गरी ४६ खर्ब ७३ अर्ब ७२ करोड १० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
विकास बैंकहरूले भने चालू आवको पहिलो त्रैमासमा कुल छ खर्ब २८ अर्ब ६३ करोड ८० लाख रुपैयाँँ निक्षेप संकलन गरी पाँच खर्ब २५ अर्ब ७८ करोड १० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा छ दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने विकास बैंकहरूले कुल छ खर्ब दुई अर्ब ७८ करोड रुपैयाँँ निक्षेप संकलन गरी पाँच खर्ब ११ अर्ब ५४ करोड १० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा कुल चार दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले भने चालू आवको पहिलो त्रैमासमा एक खर्ब ३४ अर्ब २० करोड ३० लाख रुपैयाँबराबरको निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ७२ करोड २० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा १२ दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने फाइनान्जस कम्पनीहरूले कुल एक खर्ब ३३ अर्ब ७४ करोड ८० लाख रुपैयाँँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब ७१ करोड २० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा १० दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।