काठमाडौं । वैदेशिक रोजगारका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम बढिरहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगीएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गरेको छ ।
कार्यायलका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उजुरीको छानबिन गरी पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने अभियानमा टोली नै परिचालन गरिएको र केही परिणाम आइरहेको बताए । उनले बुधबार मात्रै करोडौँ ठगीको आरोपमा तीन जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरी कार्यालयमा पठाइएको बताए । उनले भने, ‘ठगी घटनाका उजुरी आइरहेको र यसरी रोजगारीका नाममा भएका ठगीका घटना बढ्दो नै छ ।’ सूचना अधिकारी आचार्यले पीडितबाट एक करोड २५ लाख बढी ठगी गरेका एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए । यसरी पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका घर भई हाल ललितपुर बस्ने श्यामचन्द्र अधिकारी रहेका छन् ।
अल्बानिया, अजरबैजान मेमोडोनिया सर्बियालगायतका देशहरू पठाउने भनी मानिसबाट एक करोड २५ लाख ७८ हजार रुपैयाँभन्दा बढी पैसा उठाएर ठगी गरेको उजुरीमा अधिकारीलाई पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने अन्य दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।