काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन सरकार तयार रहेको बताएकी छिन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका केही पूर्वजनप्रनिधिहरू तथा स्थानीय सरोकारवालासँग बुधबार भएको छलफलमा प्रधानमन्त्री कार्कीले आयोजना अगाडी बढाउने प्रक्रियामा सरकार लागिरहेको बताएकी हुन् । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त करवापतको रकम प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाइने उनले बताइन् । यससम्बन्धी प्रक्रिया छिटो अघि बढाउन उनले ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजना अघि बढाउन सरकारले देखाएको तत्परताप्रति खुसी व्यक्त गर्दै यसलाई केवल विद्युत् आयोजनामा मात्र सीमित नगरी बहुउद्देश्यीय आयोजनामा विकास गर्न छुट्टै प्राधिकरण गठनका लागि सुझाव दिए । उनले परियोजनाबाट प्रभावितहरुलाई विस्थापन नगरी रिङरोड मोडालिटीमा पुनस्र्थापना गरी आर्थिक एवम् पर्यटकीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । यस्तै पूर्वसांसद राजेन्द्र पाण्डेले परियोजना निर्माण गर्न ढिलाइ गर्न नहुने बताए । परियोजना निर्माणमा जति ढिलो भयो उती नै राज्यलाई नोक्सानी हुने उनको भनाइ थियो । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, पूर्व सांसद राजेन्द्र बजगाई र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अन्य अधिकारीहरूको सहभागिता थियो ।
एक हजार दुई सय मेगावाटको यस जलविद्युत् आयोजनाको लागत २०७९ मा दुई खर्ब ५५ अर्ब अनुमान गरिएको थियो । अब यो लागत चार खर्ब नाघ्ने अनुमान छ । नेपाल सरकारले जग्गा अधिग्रहण गरी ४२ अर्ब स्थानीय जग्गाधनीलाई मुआब्जा दिइसकेको छ । काठमाडौँ, पोखरा र चितवन जस्ता ठूला सहरको बीचमा रहेको यो आयोजना निर्माण सम्पन्न गर्न कम्तीमा आठ वर्ष लाग्ने आंकलन छ ।