काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड (एचईआई)ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ ।
हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रूपमा चलचित्र हेरेको हो । चलचित्रमा नेपालको सामाजिक परिवेश र घर–घरको कथा भएकाले सबैको मन छुन सफल भएको कम्पनीले जनाएको छ । वार्षिकोत्सवको अवसरमा सबै कर्मचारी एक साथ बसेर चलचित्र हेर्नु आफैँमा सकारात्मक कुरा हो, वर्षौंपछि त्यो अवसर परानले जुराइदिएको हो । कम्पनीकी मानव संशाधन व्यवस्थापन विभागकी प्रमुख सृष्टिना मानन्धरले भनिन्, ‘सामूहिक रूपमा चलचित्र हेर्दा आफ्नोपन र पारिवारिक माहोल बनेको लाग्यो, यसले कर्मचारीहरूमा समन्वय गर्ने भावनाको विकासमा सहयोग पुग्छ ।’
चलचित्र हेरेर भावुक बनेपछि कम्पनीकी सहायक कर्मचारी रुपा देउलाले भनिन्, ‘अहिलेको समयमा नेपाली समाजलाई यस्तै सन्देशमूलक चलचित्र चाहिएको छ । आफ्नै घरको कथा भनेको जस्तै लाग्यो, कलाकारको अभिनय त झनै उत्कृष्ट छ ।’ जेनरल सर्भिस डिपार्टमेन्ट लजिस्टिकका सुविन्द्र श्रेष्ठले वरिष्ठ कलाकार नीर शाहको अभिनय र कथाले मन जितेको प्रतिक्रिया दिए ।
एचईआईको कर्पोरेट शोमा निर्देशक दीपक प्रसाद आचार्य र अभिनेत्री अञ्जना बराइली पनि पुगेका थिए । नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ ।