काठमाडौं । इम्बार्क अनम्याथले प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलसँगको साझेदारीमा हालै एक नवीन सिकाइ–केन्द्रित गणित सत्र आयोजना गरेको छ ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले हाल चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ बाट प्रेरित लाइभ मोक क्रिकेट ‘अक्सन’मा सहभागी हुँदै खेलकुदको रोमाञ्चलाई रणनीतिका साथ गणितीय सिकाइसँग जोड्ने अनुभव पाएका थिए । यस सत्रमा ६० विद्यार्थी, तीन शिक्षक तथा चितवन राइनोजका विशेष अतिथि विपिन आचार्य सहभागी थिए । आचार्यले अनलाइनमार्फत खेलाडी छान्ने रणनीतिबारे आफ्नो पेसागत अनुभव सुनाएका थिए । यस रोचक गतिविधिमा विद्यार्थीहरूले व्यावसायिक खेलकुदमा गणितीय सोचले कसरी निर्णयमा प्रभाव पार्छ भन्ने कुरा सिकेका थिए । उनीहरूले सांख्यिकीय विश्लेषण, बजेट व्यवस्थापन, सम्भाव्यता र रणनीतिगत योजना प्रयोग गरेर निर्धारित रकमभित्रै सन्तुलित टिम निर्माण गर्ने अभ्यास पनि गरे । प्रिमियर इन्टरनेसनल स्कुलले वास्तविक जीवनमा लागू हुने ज्ञान, आलोचनात्मक सोच र विभिन्न विषयबीचको सम्बन्धमा विशेष ध्यान दिने गरेको छ ।