काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप रकम झण्डै साँढे ७५ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले पछिल्लो पटक अर्थात् यसै साता अद्यावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी रिपोर्टअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूको कुल निक्षेप ७५ खर्ब ३१ अर्ब रुपैयाँ पुग्दा लघुवित्त वित्तीय संस्थाबाहेकको बैंकिङ क्षेत्रको कुल कर्जा ५६ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा वाणिज्य बैंकहरूको मात्र कुल निक्षेप रकम ६७ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा रकम ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम सात खर्ब ५४ अर्ब रुपैयाँ पुग्दा कुल कर्जा रकम छ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकिङ क्षेत्रका अन्तरकारोबारको ब्याजदर दुई दशमलव ७५ प्रतिशत रहेको छ भने निक्षेप तथा कर्जा अनुपात (सीडी) रेसियो ७४ दशमलव २८ प्रतिशत रहेको छ । सोअनुसार नेपाल बैंकिङ क्षेत्र अहिले पनि झण्डै १० खर्ब रुपैयाँको हाराहारीमा थप कर्जा दिन सक्ने अवस्थामा रहेको छ । तर पछिल्लो समय विविध कारणले कर्जा लगानी बढ्न नसक्दा बैंकिङ क्षेत्रमा अधिक तरलता बढिरहेको छ । यसलाई नियन्त्रणमा राख्नको लागि राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका मौद्रिक उपकरणहरू जारी गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकले पछिल्लो पटक–पटक सार्वजनिक गरेको बैंक तथा फाइनान्स कम्पनीहरूको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार भने बैंक तथा फाइनान्स कम्पनीहरूमा रहेको निक्षेप पछिल्लो अवधिमा तीन प्रतिशत अर्थात् दुई खर्ब १८ अर्ब ७२ करोड रुपैयाँले बढेर ७४ खर्ब ८२ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई दशमलव ६० प्रतिशत अर्थात् एक खर्ब ७० अर्ब) रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३ प्रतिशतले बढेको छ । २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव चार प्रतिशत, ३८ दशमलव सात प्रतिशत र ४६ दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच दशमलव चार प्रतिशत, ३२ दशमलव सात प्रतिशत र ५४ दशमलव आठ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ असोज मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव तीन प्रतिशत रहेको छ । २०८१ असोज मसान्तमा यस्तो निक्षेपको अंश ३५ दशमलव आठ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव पाँच प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोड रुपैयाँले बढेर ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई दशमलव पाँच प्रतिशत अर्थात् एक खर्ब २८ अर्ब ६५ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पनि सात दशमलव तीन प्रतिशतले बढेको छ । २०८२ असोज मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव आठ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ प्रतिशत र ३६ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह एक दशमलव छ प्रतिशत, विकास बैंकहरूको कर्जा प्रवाह शून्य दशमलव पाँच प्रतिशत र फाइनान्स कम्पनीहरूको एक दशमलव छ प्रतिशतले बढेको छ । २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४ दशमलव तीन प्रतिशत रहेको छ । २०८१ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३ दशमलव चार प्रतिशत र ६५ दशमलव आठ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा दुई दशमलव नौ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुई दशमलव चार प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा दुई दशमलव चार प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा एक दशमलव छ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा एक दशमलव चार प्रतिशतले बढेको छ भने सेवा उद्योग क्षेत्रतर्फको कर्जा शून्य दशमलव तीन प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) तीन दशमलव दुई प्रतिशत, मार्जिन प्रकृतिको कर्जा तनि प्रतिशत, क्यास क्रेडिट कर्जा दुई दशमलव सात प्रतिशत, आवधिक कर्जा शून्य दशमलव सात प्रतिशत र हायर पर्चेज कर्जा शून्य दशमलव छ प्रतिशतले बढेको छ भने ट्रस्ट रिसिट (आयात) कर्जा चार दशमलव तीन प्रतिशत र अधिविकर्ष कर्जा तीन दशमलव तीन प्रतिशतले घटेको छ ।