काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्वारा विदेशी मह आयात खुला गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।
महासंघलका अध्यक्ष चित्रबहादुर श्रेष्ठले विज्ञेप्ती जारी गर्दै विदेशी मह आयात अनुमति किसान विपरित निर्णय भएको बताएका छन् । केही वर्षदेखि विदेशी मह आयातमा रोक लगाइँदा पनि स्वदेशी महको पर्याप्त बजार अभावका कारण माहुरीपालक किसान मारमा परेको श्रेष्ठले बताए । सरकारले कानुन विपरीत विदेशी मह आयात खुला गर्ने निर्णय गरेको उनको आरोप छ । संगठनले विदेशी मह आयात तुरुन्त रोक्न, माहुरीपालक किसानलाई तालिम, अनुदान र उद्योगहरूको प्रभावकारी अनुगमनसहित स्वदेशी मह उत्पादन संरक्षण तथा प्रबद्र्धन कार्यक्रम अघि सार्न सरकारलाई माग गरेको छ ।
यस्तै, महासंघले धान–पराल भित्र्याउने मुख्य सिजनमा तराइका विभिन्न जिल्लामा पराल ढुवानी रोकिएको उल्लेख गरेको छ । प्रहरीले ओभरलोडको नाममा ट्रक रोकेर प्रतिट्रक ५ सय, एक हजार रुपैयाँ घुस लिएर मात्र छाड्ने काम भइरहेको महासंघको आरोप छ । पछिल्ला केही दिनदेखि ढुवानी नै रोकिएकोले सहजीकरण गर्न महासंघले सरकारसंग माग गरेको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार पराल हलुका सामग्री भएकाले उचाइमा चाङ लगाएर ढुवानी गर्ने प्रचलन प्राविधिक कारण र विकल्प अभावका कारण वर्षौंदेखि चल्दै आएको छ । ढुवानी अवरुद्ध हुँदा पहाड तथा काठमाडौँ उपत्यकाका पशुपालक र च्याउ उत्पादनकर्तामा प्रत्यक्ष प्रभाव परेको उनले बताए । साथै, तराइका किसानले पराल बेच्न नपाउँदा भाउ घटेर भारत निर्यात बढ्ने अवस्था सिर्जना भएको र यसले धान उत्पादनमै निरुत्साह ल्याउने महासंघले चेतावनी दिएको छ । महासंघले भ्रष्टाचारमा संलग्न प्रहरीमाथि कारबाही र पराल ढुवानी तत्काल खुलाउन संगठनले सरकारसमक्ष माग राखेको छ ।
महासंघले देशमा हालै भएको जेनजी आन्दोलनपछि बनेको सरकारको मुख्य काम शान्ति, सुव्यवस्था र चुनाव व्यवस्थापन भएको उल्लेख गरेको छ । तर, सरकारका पछिल्ला निर्णयहरू जनभावनाविपरीत र दीर्घकालीन रूपमा राष्ट्रहित प्रतिकूल रहेको महासंघको आरोप छ । महासंघले माग सम्बोधन नभए देशव्यापी संघर्षमा उत्रन बाध्य हुने जनाएको छ । कृषि–आधारित देश नेपालको दुई तिहाइ जनसंख्या कृषि पेशामा निर्भर रहेको अवस्थामा सरकारले लिएर आएको अनुचित निर्णयहरूले किसानको जीवन, उत्पादन र समग्र अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक असर परेको महासंघद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ ।