काठमाडौं । लक्ष्मी सनराइज बैंकले २५औं वार्षिक साधारण सभाको आह्वान गरेको छ । बैंकले यही पुस १४ गते काठमाडौंको कमलपोखरीमा रहेको अग्रवाल भवनमा वार्षिक साधारण सभा गर्न लागेको हो ।
वार्षिक साधारण सभामार्फत बैंकले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सभामा बोनस सेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ । सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरू उपर छलफल गरी पारित गर्ने र आव २०८१÷८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गर्ने तयारी पनि बैंकले गरेको छ । वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।