दोहा । कतारको राजधानी दोहामा आजदेखि सुरु भएको ‘दोहा फोरम सन् २०२५’मा विश्वका नेता, उच्चस्तरीय कूटनीतिज्ञ र व्यापार विशेषज्ञहरूले सहभागिता जनाएका छन् । फोरमले गाजा सफ्ट, युक्रेन युद्ध, स्वास्थ्य प्रणाली, प्रविधि विकास र कृत्रिम बुद्धिमत्ता (एआई)को द्रुत प्रगतिलगायत विश्वव्यापी चुनौतीहरूबारे बहसको अवसर प्रदान गरेको छ ।
क्यूएनएका अनुसार उद्राटन समारोहमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जस्सिम अल थानीले भने, ‘कतारको भूमिका संवाद र मध्यस्थता कायम राख्न केन्द्रित छ । हामी कुनै पक्षको समर्थन नगरी, संघर्ष समाधान र मानवीय पीडाको अन्त्यमा सहयोग पुर्याउने उद्देश्य राख्छौँ ।’ उनले गाजा र युक्रेनमा शान्ति प्रयासमा कतारले सक्रिय भूमिका खेलेको जानकारी दिएका छन् ।
फोरम २०२५ मा विश्वप्रसिद्ध उद्यमी र माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि विश्वव्यापी स्वास्थ्य प्रणाली मजबुत पार्न वित्तीय सहयोग र प्रविधिको प्रयोग आवश्यक रहेको बताए । उनले भने, ‘भविष्यका स्वास्थ्य चुनौतीहरू सामना गर्न हामीले सामूहिक प्रयास गर्नुपर्छ र प्रणाली सुधारमा ध्यान दिनुपर्छ ।’
दोहा फोरमले विश्वव्यापी व्यापार प्रणाली, अमेरिकी–चीन सम्बन्ध, प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा आर्थिक संरचना सुधारका विषयमा विचार आदान–प्रदानको अवसर प्रदान गरेको छ । यस वर्षको फोरममा एक सय ६० भन्दा बढी देशका छ हजार सहभागी हुने अनुमान गरिएको छ । फोरमका सत्रहरूले गाजा सफ्ट, क्षेत्रीय र विश्वव्यापी मध्यस्थता, स्वास्थ्य सेवा प्रणाली सुदृढीकरण, कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोग तथा व्यापार र कूटनीतिक सम्बन्ध सुधारका उपायमा केन्द्रित बहस गरेको छ ।
फोरमले बहुपक्षीय कूटनीति, अन्तर्राष्ट्रिय सहयोग र जिम्मेवारी सुनिश्चित गर्न विश्वका नेताहरूलाई मार्गदर्शन गर्ने महत्वपूर्ण भूमिका खेलेको छ ।