पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रियामा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। दर्ता प्रक्रिया भइरहेकाे मुद्दामा करिब ८ अर्ब रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले विपक्षी बनाएका पूर्वमन्त्रीहरूमा डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्य रहेका छन्। तीमध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ भने कांग्रेस नेता डा. महत अल्जाइमरका कारण सक्रिय राजनीतिबाट टाढा छन्। एमाले उपाध्यक्षका दाबेदार पूर्वमन्त्री भीम आचार्य पनि आरोपित सूचीमा परेका छन्। झलनाथ खनालका स्वकीय सचिव रहेर मन्त्री बनेका दिपक अमात्य र प्रचण्डको सिफारिसमा मन्त्री बनेका रामकुमार श्रेष्ठ पनि मुद्दामा सहभागी छन्। श्रेष्ठ यसअघि अकुत सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भइसकेका थिए।
मुद्दामा तत्कालीन प्रशासनिक नेतृत्व पनि परेका छन्। विपक्षी बनाइएका व्यक्तिहरूमध्ये नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन, प्रोजेक्ट म्यानेजर तथा हाल क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन सचिव सुरेशमान श्रेष्ठ, कार्यदल संयोजक तथा सर्वोच्च अदालतका पूर्व रजिष्टार रामकृष्ण तिमल्सिनालगायत उच्च अधिकारीहरू समावेश छन्।
अख्तियारका अनुसार विमानस्थल निर्माणको बाँकी विवरण र वित्तीय अनियमितताको विस्तृत प्रतिवेदन सार्वजनिक हुन अझै बाँकी रहेको छ।