म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
सडक योजना कार्यालयले करिव १३ किलोमिटर दुरीको सडकमध्ये करिब दुई किलोमिटर बाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको जनाएको छ । मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्राअवधि स्तरोन्नतिपछि २० देखि २५ मिनेटमा छोटिएको यातायात व्यवसायी रेशबहादुर विश्वकर्माले बताए । उनले भने “घुमाउरो सडकमा यात्रा गर्नुपर्ने समस्या हट्नुका साथै यात्राअवधि पनि छोटिएको छ ।”
सडक कालोपत्र भएपछि धुलो र हिलोमा जोखिम तथा कष्टपूर्णयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले बताए । उनले भने,“सडक स्तरोन्नतिले पूर्णता पाएपछि सार्वजनिक यातायात र ढुवानीको भाडादर पनि समायोजन हुनेछ् ।”
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक विसं २०६८ मा एकतर्फी कालोपत्र भएको थियो । मुस्ताङ र कोरला नाका सडक सञ्जालमा जोडिपछि यातायातका साधनको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जीर्ण बनेको थियो ।
विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य थियो । सडक निर्माण कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए ।
लस्ती, केराबारी, लामाखेत खण्डमा कालोपत्र सकिएको छ । स्थानीय प्रशासनसँग समन्वय गरेर मङ्सिर १ देखि २० गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सडक बन्द गरेर कालोपत्र गर्ने कामलाई सहज बनाइएको थियो । लस्ती–फर्से र मिलनचोक बजारभित्र करिब एक किलोमिटर दुई सय मिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका इञ्जीनीयर जीवन चौधरीले बताए ।
वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरुको अहसमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाइँले बताए ।