काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन २१ दशमलव ४८ अंकले खुम्चिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पनि तीन दशमलव शुन्य दुई अंकले ओरालो लागेर २६ सय छ दशमलव ६७ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५० अंकले ओरालो लागेर चार सय ४६ दशमलव ७५ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३१ वटा कम्पनीहरुको ८३ हजार दुई सय ७३ पटकको कारोबारमा एक करोड एक लाख ४६ हजार चार सय कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार सात सय ४२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा उपसमुहको सुचक उकालो लागेपनि बाँकी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् । सो मध्ये जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् ।