नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न महाधिवेशनका लागि छुट्टै राजनीतिक र सांगठनिक प्रस्ताव महासचिव शंकर पोखरेललाई बुझाएका छन्। आगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै रहेका पोखरेलले प्रस्तावमा पार्टीलाई एकढिक्का बनाएर आगामी दिशानिर्देश कसरी तय गर्ने भन्ने विषय समेटिएको बताए।
ओली निवास गुण्डु पुगेर प्रस्ताव बुझाउने तयारी भए पनि विभिन्न कारणले त्यो सम्भव नभएको उनले बताए। तर प्रस्तावले महाधिवेशनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास पोखरेलले व्यक्त गरे।
पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा केही ठाउँमा समस्या देखिए पनि अध्यक्ष ओलीसँगको छलफलपछि त्यसको समाधान भइसकेको दाबी गरे।
उनका अनुसार प्रस्तावमा पार्टी नेतृत्व छान्न विधिसम्मत प्रक्रिया, विचार र कार्यशैलीमा पुनर्गठन र पार्टी निर्माणमा नयाँ दिशानिर्देशन जस्ता विषयहरू समेटिएका छन्। पोखरेलले विधिसम्मत रूपमा नेतृत्व चुनिनुपर्नेमा आफू पूर्णतः विश्वस्त रहेको पनि बताए।