काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि किसानले उत्पादन गर्ने उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्दै प्रतिक्विन्टल न्यूनतम मूल्य ६ सय २० रुपैयाँ तोकिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य तोकेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार विभिन्न १० जिल्लाका गरिब परिवारको सूचीसमेत स्वीकृत गरिएको छ । तेह्रथुम, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व र पश्चिम), पर्वत, मोरङ र सुनसरीलगायत गरी २७ गरिब परिवारको सूची समेत स्वीकृत गरिएको हो ।
यस्तै, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने र नेपाल प्रशासन सेवाको समूहीकरणअन्तर्गत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ ।
यीबाहेक सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घाइतेको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने कार्य अगाडि बढाउने निर्णय गरेको छ । ‘प्रदर्शन’का क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत उपलब्ध गराउन ‘जेनजी घाइते राहत सहायता कार्यविधि २०८२’ स्वीकृत गर्ने निर्णय गरिएको छ ।
बैठकले विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका स्व. पत्रकार सुरेश रजकलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णयसमेत गरेको छ ।