काठमाडौं । विकास बैंकहरूमा झण्डै ३२ अर्ब कर्जा निष्क्रिय देखिएको छ । गत साउनदेखि असोजसम्मको अवधिमा ३१ अर्ब ७० करोड ४५ करोड ९४ लाख ३० हजार रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको हो ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विकास बैंकहरूले पाँच खर्ब २५ अर्ब ७८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा औसत छ दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ६६ प्रतिशत अर्थात् नौ अर्ब ३५ करोड दुई लाख ५२ हजार छ सय रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल पाँच खर्ब ११ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ३७ प्रतिशत अर्थात् २२ अर्ब ३५ करोड ४३ लाख ४१ हजार सात सय रुपैयाँबराबरको कर्जा निष्क्रिय थियो । राष्ट्र बैंकको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार विकास बैंकहरूमा शून्य दशमलव ५५ देखि ५७ दशमलव चार प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ ।
कुनमा कति ?
विवरणअनुसार यो अवधिमा कामना सेवा विकास बैंकमा चार दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यस्तो अनुपात तीन दशमलव ९६ प्रतिशत थियो । यसबाहेक, मितेरी, साँग्रिला र लुम्बिनी विकास बैंकमा क्रमशः शून्य दशमलव ५५, छ दशमलव ८६ र सात दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवमा यस्तो अनुपात क्रमशः एक दशमलव ८०, चार दशमलव ६५ र तीन शमलव ६९ प्रतिशत थियो ।
उक्तबाहेक सिन्धु, मुक्तिनाथ र ग्रीन डेभलपमेन्ट बैंकमा पनि क्रमशः आठ दशमलव ८४, चार दशमलव शून्य तीन र चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः ११ दशमलव २९, तीन दशमलव १६ र चार दशमलव ७३ प्रतिशत निष्क्रिय कर्जा थियो ।
त्यसैगरी गरिमा, महालक्ष्मी र कर्पोरेट डेभलपमेन्ट बैंकमा भने क्रमशः चार दशमलव ७३, पाँच दशमलव ५० र ११ दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ८२, चार दशमलव ९० र चार दशमलव ९५ प्रतिशत थियो ।
शाइन रेसुंगा र ज्योति विकास बैंकमा पनि पहिलो तीन महिनामा क्रमशः चार दशमलव ६१ र सात दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा यी दुई बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ५० र चार दशमलव ९८ प्रतिशत रहेको थियो । नारायणी र सप्तकोशी डेभलपमेन्ट बैंकमा पनि चालू आवको पहिलो त्रैमासमा क्रमश ५७ दशमलव शून्य चार र ११ दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः ३४ दशमलव ८१ र १४ दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।