काठमाडौं । १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा हुने भएको छ । रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको सहकार्यमा आगामी पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा महोत्सव हुन लागेको हो ।
परिसंघको कार्यलयमा सोमबार पत्रकार सम्मलेनको आयोजना गरी ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मुख्य नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । रुपन्देही उद्योग संघले सन् २०४५ सालमा नेपालमै पहिलो पटक औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो । २०५३ सालदेखि भने संघले निरन्तर महोत्सव गर्दै आएको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार यसपटकको प्रदर्शनी बुटवलस्थित नव–निर्मित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ, जसमा आधुनिक संरचना र व्यवस्थित स्टल व्यवस्थापन रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा स्वदेशी उत्पादन, कृषि, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामाग्रीका लागि १० वटा छुट्टाछुट्टै पेभिलियन निर्माण गरिने उनले बताए । करिब पाँच सय स्टल रहेको प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, परिधान, बेकरी–कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न तथा सूचना प्रविधिका उत्पादन प्रदर्शन गरिने उनको भनाइ छ ।
स्वदेशी उत्पादनको प्रदर्शन तथा बजारीकरणलाई मुख्य एजेन्डा बनाएको प्रदर्शनी ‘मेक इन नेपाल–स्वदेशी अभियान’लाई विशेष प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ । प्रदर्शनीका प्रमुख उद्देश्य स्वदेशी उत्पादनको प्रदर्शन तथा बजारीकरण, प्राविधिक तथा व्यावसायिक अनुभव आदान–प्रदान, नेपाली उद्योगका लागि अवसरहरूको खोजी, उत्पादनकर्ता, उपभोक्ता, विज्ञ तथा सरकारी निकायबीच अन्तरसंवाद र आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी रहेको छ ।