काठमाडौँ । सार्कको ४१औँ चार्टर दिवसको अवसरमा प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छिन् ।
प्रधानमन्त्री कार्कीले सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकांक्षा पूर्ण गर्न सकिने उल्लेख गरेकी छन् । कार्कीले खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, गरिबी न्यूनीकरणजस्ता समयका जटिल चुनौतीहरूको सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउने कार्यमा सार्क चार्टर निरन्तर मार्गदर्शक बनेको उल्लेख गरिन् ।
उनले विगत वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र यस क्षेत्रभर जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहलहरू अघि बढाउन महत्वपूर्ण मञ्चको रूप लिन सफल भएको बताएकी छन् ।
उनले हालका अध्यक्षको रूपमा, नेपालले सार्क चार्टरमा निहित सिद्धान्तअनुसार मित्रता, एकता तथा सहमतिको भावनाअनुसार सबै सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्ने दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको उल्लेख गरेकी छिन् ।
संयुक्त प्रयासमार्फत साझा विकास लक्ष्यतर्फको प्रगतिलाई छिटो पार्न सकिने र यस क्षेत्रमा बसोबास गर्ने विश्वको एक चौथाइ जनताका लागि ठोस लाभहरू पुर्याउन सकिने प्रधानमन्त्री कार्कीको भनाइ छ । उनले यस चार्टर दिवसले सबैमा नयाँ प्रतिबद्धता, गहिरो सहकार्य र क्षेत्रीय एकताको पुनर्जीवित भावना जगाओस् भनी शुभकामना गरेकी छन् ।
बङ्गलादेशको ढाकामा सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा सार्क चार्टरमा हस्ताक्षरसँगै भएको हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्रहरू समावेश छन । यस सङ्गठनको सचिवालय १७ जनवरी १९८७ मा काठमाडौँमा स्थापना गरिएको हो । सार्कका हालसम्म १८ शिखर सम्मेलन भइसकेका छन् । सार्कको १८औँ शिखर सम्मेलन सन् २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौँमा भएको थियो ।