काठमाडौं । भन्सार विभागले सिस्टममै छेडखानी गरी करिब १ करोड ३ लाख रुपैयाँ राजस्व छलेको भन्दै सुलभ अग्रवालको जगदम्बा ओभरसिज प्रालिलाई बक्यौता भर्न पत्राचार गरेको छ। विभागको आन्तरिक लेखा परीक्षणमा टोबाको स्टिक आयातका क्रममा वास्तविक अन्तःशुल्कभन्दा निकै कम महशुल बुझाएर माल छुटाएको पत्ता लागेको हो। जेठ १५ गतेदेखि लागू भएको नयाँ आर्थिक ऐनअनुसार सुर्ती भएको वा पुनर्निर्मित सुर्तीमा मूल्यको ४० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ। तर आशिकुडा प्रणाली अपडेट गर्दा त्रुटिपूर्ण रूपमा प्रतिकिलोग्राम ४० रुपैयाँ मात्र अन्तःशुल्क देखिने गरी डेटा राखिएको भन्सार विभागले जनाएको छ। यसै त्रुटिको अवसर लिएर ओभरसिजले जेठको तेस्रो सातामा ५२५ किलोग्राम टोबाको स्टिक आयात गर्दा १४३.६२८ प्रतिशत अन्तःशुल्क लाग्नुपर्नेमा जम्मा ७० प्रतिशत मात्र भरेर माल छुटाएको भेटिएको हो। गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ हजार २१९ किलोग्राम टोबाको स्टिक आयात गरी १ करोड ५८ लाख रुपैयाँबराबरको सामान ल्याएको र त्यसकाे बदलामा १ करोड ४ लाख रुपैयाँ राजस्व बुझाएको थियो। चालू वर्षको वैशाखसम्म ६९४ किलोग्राम टोबाको स्टिक आयातबाट ५६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो। तर नयाँ ऐन लागू भएको जेठ महिनामा आयात भएको वस्तुमा भने कम्पनीले ४७ लाख ५१ हजार रुपैयाँ मात्र महशुल बुझाएको पाइएको हो, जुन कानुनअनुसार लाग्ने राजस्वभन्दा निकै कम हो। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी बाबुराम घिमिरेका अनुसार आशिकुडा प्रणालीमा डेटा अपडेट गर्दा भएको त्रुटिका कारण कम राजस्व उठ्ने अवस्था बनेको हो। भन्सारले कात्तिक २१ गते जगदम्बा ओभरसिजलाई छुट राजस्व बुझाउन १० दिनको समयसहित पत्राचार गरिसकेको छ। निर्धारित समयभित्र राजस्व नबुझाए कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने भन्सार कार्यालयले जनाएको छ।