काठमाडौं । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको निधन भएको छ । नेपाली बैंकिङ क्षेत्रमा साँढे पाँच दशक समय बिताएका पुराना बैंकर मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
२१औं वाणिज्य बैंकका रुपमा स्वीकृति पाएको प्राइमलाई स्थापना र छोटो समयमै समकालीन बैंकको तुलनामा नयाँ उचाइमा पु¥याएका मानन्धरले केही समय अध्यापनसमेत गराएका थिए । धानचामल गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनमा रहेर काम गरेका मानन्धर तत्कालीन नेपाल बंगलादेश बैंक तथा लुम्बिनी बैंकको कार्यकारी प्रमुखसमेत भएका थिए । व्यापार व्यवसाय प्रवद्र्धनका लागि बैंकिङ स्रोतमा पहुँच पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका मानन्धरले काष्ठकला तथा मूर्तिकला क्षेत्रलाई समेत महत्त्व दिएका थिए । धितोभन्दा पनि सिपका आधारमा कर्जा दिई कालिगढलाई उद्यमी बनाउनमा उनको निकै ठूलो योगदान रहेको छ ।