काठमाडौं । यशोदा फुड्सले ‘करेन्ट नूडल्सू’ अब ग्रीन इनर्जीबाट बनाउने भएको छ । कम्पनीले कपिलवस्तुस्थित आफ्नो कारखानामा आठ सय ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार परियोजना जडान गरेको छ ।
कम्पनीका अनुसार २३ नोभेम्बर २०२५ देखि स्वच्छ तथा हरित सौर्य ऊर्जामार्फत बिजुली उत्पादन गर्न सुरु गरिसकिएको छ । यससँगै यशोदा फुड्स, नेपालमा पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने नुडल्स उद्योग बनेको छ । साथै, कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य नविकरणीय ऊर्जा प्रयोग गर्ने पहिलो उद्योग बन्न सफल भएको छ । यस सौर्य प्लान्टमार्फत औद्योगिक आवश्यकताको करिब ८० प्रतिशत बिजुली माग पूरा हुने, विद्युत खर्च ६५ प्रतिशतले घट्ने तथा प्रयोग बिहिन रहेको छाना सदुपयोग समेत हुनाका साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ । उक्त परियोजना प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो । परियोजनाका लागि एनएमबी बैंक लिमिटेडद्वारा वित्तिय सुविधा उपलब्ध गरिएको थियो । त्यसैगरी, जर्मन ग्रान्ट डीकेटीआई परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)ले ब्याज अनुदानसहितको वित्तीय सहयोग प्रदान गरेको हो ।
यसले कार्बन उत्सर्जन घटाउनुका साथै करेन्ट नुडल्सलाई सञ्चालनमा दिगोपनाको दिशातर्फ लैजान ठूलो मद्दत गर्ने कम्पनीका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जीपी साहले बताए । उनका अनुसार ८५६ केडब्ल्यू क्षमताको यस प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुनेछ । यसले दुई हजार टन सीओटू उत्सर्जन बचत गर्नेछ । साथै यसले उत्पादन लागत घटाउने भएकाले अझ प्रतिस्पर्धी बन्ने उनको भनाइ छ । एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाहरूले नेपाली उद्योगलाई डिकार्बोनाइजेसनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालका अन्य उद्योगहरूलाई पनि स्वच्छ ऊर्जा अपनाउन प्रेरित गर्ने उनको भनाइ छ ।