काठमाडौं । सेयरबजारमा मंगलबार ७ अंकको सुधार देखिएको छ । लगानीकर्ताको ‘कन्फिडेन्स’ कमजोर भइरहेका बेला मंगलबार सूचक हरियो भए पनि उच्च अंकको वृद्धि नदेखिएको हो । यस दिन सूचक नेप्से ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा उक्लेको छ । पछिल्लो समय कम्तीमा एक करोड कित्ता बिक्री भएको बजारमा मंगलबार भने ८७ करोड कित्ता मात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ ।
यसअनुसार कुल तीन अर्ब ७५ करोडको कारोबार भएको छ । जसमा एक सय ४८ वटा सेयरको मूल्य बढे पनि एक सय एउटाको घटेको र नौवटाको अघिल्लो मूल्यमा कारोबार भएको छ । तेस्रो कारोबार दिन स्वस्तिक लघुवित्तका सेयरधनीले प्रतिकित्ता १४४.५० रुपैयाँ आर्जन गर्दा श्रीनगर एग्रिटेक, माथिल्लो मैलुङ खोला, श्वेत गंगा र सुपर मादी हाइड्रोका सेयरधनीले पनि ८.१० प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म प्रतिसेयर आम्दानी गरेका छन् ।
तर हिमस्टार ऊर्जा कम्पनी, मिथिला लघुवित्त, कालिका लघुवित्त, लक्ष्मी सनराइज बैंक र प्योर इनर्जीका लगानीकर्ताले भने २.११ प्रतिशतदेखि ३.८८ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन् ।
मंगलबार ङादी ग्रुप पावरको ३१ करोडको उच्च कारोबार भए पनि बाँकी कारोबार सामान्य छ । यस दिन गुमाउनेमा वाणिज्य बैंक, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूहका लगानीकर्ता बढी परेका छन् । बाँकी उपसमूहका कम्पनीमा लगानी गर्नेले भने धेरथोर कमाएका छन् ।