काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको क्षतिमध्ये चार अर्ब ३८ करोड रुपैयाँ बीमा भुक्तानी गरिएको छ ।
नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले दाबी गरिएको करिब २३ अर्ब ४४ करोड रुपैयाँमध्ये चार अर्ब ३८ करोड ४८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरेका हुन् । निर्जीवन बीमा कम्पनीहरूमा तीन हजार तीन सयवटा बीमा दाबी परेका छन् । भुक्तानीमध्ये उल्लेख्य हिस्सा अग्रीमरूपमा प्रदान गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणमा आबद्ध १४ निर्जीवन र चार लघु निर्जीवन बीमा कम्पनीहरूले दिएको विवरणअनुसार, सम्पत्ति बीमा श्रेणीमा परेका सात सय १० दाबीमध्ये करिब १९ अर्ब एक करोड रुपैयाँ दाबी भएको थियो, जसमा तीन अर्ब १२ करोड २७ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यसैगरी मोटर बीमातर्फका दुई हजार तीन सय आठको करिब तीन अर्ब ४८ करोड दाबी रकममध्ये एक अर्ब नौ करोड भुक्तानी गरिएको छ ।
यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ दुई सय २५ वटा बीमा दाबीको करिब ५५ करोड ५५ लाख रुपैयाँ दाबी रकममध्ये छ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ । परिवहन बीमातर्फ १२ दाबीमा एक करोड ६९ लाख दाबी रकममध्ये ६६ लाख रुपैयाँ र अन्य बीमातर्फका ४५ दाबीमध्ये ३८ करोड ४० लाख दाबी रकममा ४९ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए ।
पुनर्बीमाबाट दुई अर्ब ५६ करोड अग्रीम भुक्तानी
जेन–जी आन्दोलनका क्षतिपूर्तिका लागि पुनर्बीमा भुक्तानी प्रक्रिया पनि तीव्ररूपमा अघि बढेको छ । नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब दुई अर्ब ५६ करोड रुपैयाँ अग्रीम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।
कम्पनीमा विभिन्न १४ निर्जीवन बीमा कम्पनीहरूबाट परेका दुई हजार आठ सय ६१ पुनर्बीमा दाबीको कुल दाबी रकम करिब १५ अर्ब ८१ करोड रुपैयाँ पुगेको प्राधिकरणले सार्वजानिक गरेको अद्यावधिक विवरणमा उल्लेख छ ।
बाढीपहिरोको क्षतिमा एक करोड ८८ लाख भुक्तानी
असोज १८ गतेदेखि भएको अविरल वर्षा र बाढी–पहिरोका कारण क्षति भएकाहरूलाई पनि निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी प्रक्रिया सुरु गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूमा सात सय ८१ प्रारम्भिक बीमा दाबी परेका छन् । सात सय ८१ प्रारम्भिक बीमाको करिब चार अर्ब चार करोड रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये ६७ वटा दाबीको एक करोड ८८ लाख रुपैयाँ हालसम्म भुक्तानी भएको छ । प्राधिकरणमा विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट अद्यावधिक तथ्याङ्क उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।
उक्त विवरणअनुसार सम्पत्ति बीमातर्फ चार सय १० वटा दाबीको तीन अर्ब ४५ करोड ३५ लाख रुपैयाँ दाबी रकममध्ये कुल २० वटा बीमा दाबीको करिब ८३ लाख रुपैयाँ भुक्तानी भएको छ । यस्तै इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ एक सय छवटा बीमा दाबीको करिब ५० करोड ३७ लाख रुपैयाँमध्ये कुल छवटा दाबीको दुई लाख, कृषि तथा बाली बीमातर्फ दुई सय १० वटा बीमा दाबीको करिब चार करोड १४ लाखमध्ये कुल ३१ दाबीको करिब १३ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिब तीन करोडमध्ये कुल नौवटा दाबीको करिब ८७ लाख रुपैयाँ बीमा भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यसैगरी, सामुद्रिक बीमातर्फ तीन वटा बीमा दाबीको करिब १० लाख रुपैयाँ दाबीमध्ये एउटाको करिब तीन लाख रुपैयाँ भुक्तानी भएको छ ।
मोटर बीमा (सार्वजनिक)तर्फ १० वटा दाबीको एक करोड आठ लाख रुपैयाँ र लघुबीमातर्फ दुईवटा दाबीको १२ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।