विराटनगर । मोरङ उद्योग व्यापार संघले विराट ट्रेड एक्स्पो २०२५ (अन्तर्राष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी)को आयोजना गर्ने भएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी आगामी पुुस ९ गतेदेखी १९ गतेसम्म विराटनगरमा एक्स्पोको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
संघका अध्यक्ष अनुुपम राठीले मुलुकको आर्थिक मेरुदण्डीय उद्योग/व्यवसायको हक, हित, संरक्षण एवं यस क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवर्द्धनका लागि एक्स्पोको आयोजना गर्न लागेको जानकारी दिए । एक्स्पोले प्रदेशका स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धन एवं विकासमा सहयोग गर्ने उनको भनाइ छ । जेन–जी आन्दोलनपछि सुस्ताएको आर्थिक गतिविधिहरूलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा झल्काउँदै गतिशील बनाउने उद्देश्य एक्स्पोको रहेको छ । एक्स्पो तयारी समितीका संयोजक अमित सारडाले जेन–जी आन्दोलनपछि उत्पन्न भएको विद्यमान शिथिल तथा अनिश्चित आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि उक्त एक्स्पोको आयोजना गरिएको जानकारी दिए । साथै, स्वदेशी उद्योग/व्यवसायको प्रवर्द्धन, नेपाल व्यापार रणनीति लक्ष्यअन्तर्गत पहिचान गरिएका कोशी प्रदेशका अधिकांश वस्तुहरू सहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरूको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तारमा एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
नयाँ एवं विद्यमान स्वदेशी र विदेशी उत्पादनहरू प्रदर्शन गर्ने, बिक्री गर्ने, व्यापार र लगानीको सम्भावनाहरूबारे छलफल गर्ने उत्कृष्ट थलो एक्स्पो हुने जनाइएको छ । एक्स्पोमा जर्मन प्रविधिको ह्याङगर, अक्टानमसहितको करिब दुई सय ३० स्टल राखिनेछ । नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरूका अतिरिक्त कोशी प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरूको प्रदर्शनीसहित छिमेकी राष्ट्र भारतलगायत बंगलादेश र पाकिस्तानका उत्पादित वस्तुहरूको उत्पादनकर्ता र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गराइने महत्वपूर्ण कडीका रूपमा विराट ट्रेड एक्स्पो आयोजना हुन लागेको एक्स्पो संयोजक सारडाले दाबी गरे ।
एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा, र महिला उद्यमशीलता सम्बन्धी विभिन्न छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिनेछ । नयाँ उद्यमीका लागि स्टार्टअप सञ्चालन गर्ने अवसर, साना तथा मध्यम उद्यमका लागि व्यवसाय विस्तारका उपाय, पर्यटन प्रवर्द्धनका रणनीति, एआई सम्बन्धी डिजिटल ज्ञान तथा साइबर सुरक्षा, कर–लेखा सम्बन्धी नयाँ प्रणाली तथा महिलालाई उद्यमशीलतामा प्रोत्साहन दिने कार्यक्रमहरू समावेश हुनेछन् । एक्पोमा मुख्य प्रायोजकको रूपमा रमपम तैयारी चाउचाउ र मारुती सिमेन्ट संयुक्त रूपमा रहने छ ।
साथै, एक्स्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय व्यान्ड (कुमा सागर, रकहेड्स, इलिमेन्टस, कुटुम्ब, स्वप्न सुमन, उज्जेन शाक्य) आदिहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेललगायतको व्यवस्था गरिने जनाइएको छ । साथै, मुख्य आकर्षणको रूपमा नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार निर्माण गरिने छ भने, यस मेलामा स्वदेश र छिमेकी मुलुकबाट करिब दुई लाख दर्शकको आगमन हुने अपेक्षा लिएका संघले जनाएको छ । एक्पोले कोशी पर्यटन वर्ष २०८२ लाई समेत प्रबर्द्धन गर्ने लक्ष्य लिएको छ ।