काठमाडौं । भन्सार एजेन्ट महासङ्घ नेपालको अगुवाइमा भन्सार एजेन्टहरू आन्दोलनमा उत्रेका छन् । भन्सार एजेन्टहरूको आन्दोलनका कारण देशभरका भन्सार कार्यलयका कामकाज ठप्प भएको छ ।
महासंघले मसिंर २० गते जारी भएको भन्सार ऐन २०८२ को विरोधमा देशभरका भन्सार कार्यालयमा मंगलबारदेखि ‘पेन डाउन’ गरेको हो । भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधान प्रति महासंघले आपत्ति जनाउँदै आएको छ । महासङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा ऐनमा रहेका कतिपय दफाहरूले भन्सार एजेन्टको पेसा/व्यवसायलाई प्रत्यक्ष असर पार्ने र अन्तरराष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पार्ने दाबी गरेको छ । महासङ्घले भन्सार ऐन, २०८२मा रहेको केही व्यवस्थाका कारणले गर्दा एजेन्टलाई हतोत्साहित तुल्याएको आरोप लगाएको छ । महासङ्घका अध्यक्ष प्राचीनकुमार थैवका अनुसार ऐनमा भन्सार इजाजतपत्र प्राप्त व्यक्तिलाई हतोत्साहित पार्ने खालका दण्ड जरिवानाका प्रावधान समावेश गरिएको छ ।
ऐनका प्रावधानले भन्सार एजेन्टको पेसागत हकहित र सहज काम गर्ने वातावरणमा नकारात्मक असर पु¥याएको भन्दै महासंघले ऐनको मस्यौदा तयार गर्दादेखि नै भन्सार विभाग र अर्थ मन्त्रालयलाई पेसागत हकहित र व्यापार सहजीकरणबारे ध्यानाकर्षण गराउँदा मागलाई बेवास्ता गरिएको जनाएको छ । सरकारले उठाएका मागलाई तत्काल सम्बोधन नगरे, आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने महासङ्घको भनाइ छ ।