काठमाडौं । बाग्लुङ स्थित धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको यही मंसिर १९ गते पोखरामा बसेको बैठकले सोही दिन देखी लागू हुनेगरी जोशीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
२०६३ चैतबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका जोशीले, २०६६मा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग, २०६७ देखि २०७५ साउन २ गतेसम्म तत्कालीन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका जोशीले २०७५ साउनदेखि २०७६ मंसिर २२ सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । धौलागिरि लघुवित्तमा २०७६ मंसिर २५ गतेदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत जोशी मिति २०८१ मंसिर १७ गतेबाट कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए ।
करिब दुई दशक लामो समय लघुवित्त क्षेत्रमा कार्यरत रहेका उनी एक अनुभवी बैंकर हुन् । उनी प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधीनमा रही धौलागिरी लघुवित्तका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र सेयर होल्डरहरूलाई यथोचित प्रतिफल प्रदान गर्ने विश्वास सञ्चालक समितिले लिएको छ । नियुक्ति पश्चात जोशीले आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरू, नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङका सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा लघुवित्तको सम्मानजनक उपस्थितलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।