काठमाडौं । बेकरी ब्रान्ड नाङ्लो बेकरी प्रालिका उत्पादनमा अखाद्य पदार्थ भेटिएको छ । कम्पनीले उत्पादन गर्ने क्रोसन्टमा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने औद्योगिक ट्रान्स फ्याट मापदण्डभन्दा अत्यधिक भेटिएको हो ।
योसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तत्काल बजारबाट फिर्ता गरी बिक्रीवितरण गर्न रोक्न आदेश दिएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) र उपदफा (४) बमोजिम कम्पनी उत्पादनहरू बजारबाट फिर्ता लिन र बिक्री वितरणमा रोक लगाउन आदेश दिएको हो । विभागले ललितपुर महानगरपालिका–१४, गोदावरीमा रहेको नाङ्लो बेकरी प्रालिबाट उत्पादित क्रोइसन्टको नमुना बजार अनुगमनका क्रममा संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा औद्योगिक ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी रहेको पाइएको थियो । जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । कम्पनीको ब्याच नम्बर–०१ उत्पादन मिति ३ डिसेम्बर २०२५ र उपभोग्य मिति १० डिसेम्बर २०२५ रहेको क्रोइसन्टको नमूना परीक्षणमा उक्त अखाद्य भेटिएको हो ।
उपभोक्ताको स्वास्थ्य जोखिम बढेपछि नेपालमा २०८१ सालदेखि खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी राख्न पूर्ण प्रतिबन्ध गरिएको छ । विश्व स्वास्थ्य संगठनले औद्योगिकरूपमा उत्पादित ट्रान्स फ्याटलाई स्वास्थ्यका लागि अत्यन्त हानिकारक मान्दै यसलाई विश्वव्यापीरूपमा हटाउन सन् २०१८ बाट सुरु गरी सन् २०२३ सम्ममा विश्वव्यापी खाद्य आपूर्तिबाट औद्योगिक ट्रान्स फ्याट हटाउने लक्ष्य राखेको थियो । ट्रान्स फ्याटले हृदय रोगको जोखिमलाई २१ प्रतिशतले र मृत्युको जोखिमलाई २८ प्रतिशतले बढाउँछ । ट्रान्स फ्याट चिल्लो पदार्थ हो, जसलाई मुख्यरूपमा औद्योगिक प्रक्रियाबाट तरल तेललाई ठोस बनाउने क्रममा उत्पादन गरिन्छ ।