काठमाडौं । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको थप कसुरमा प्रभु बैंकको रेमिट्यान्स डिपार्टमेन्ट प्रमुख सुगेन भन्ने सुजित शाक्य पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरबाट प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेन्ट प्रमुख शाक्यलाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार उनलाई उच्च अदालत, पाटनबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिई बुधबार ललितपुर महानगर ११ ईखांछेबाट पक्राउ गरिएको हो । उनीउपर थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ । नियमअनुसार नियमविपरीत सुपर एजेन्ट बनाई रेमिट्यान्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रालिलाई एड्भान्स रकम दिएको तथा उक्त प्रभु म्यानेजमेन्ट प्रालिसँग रेमिट कारोबार स्थगित भएपछि समेत नेपाल राष्ट्र बैंकको निर्देशन तथा कानुनविपरीत लामो समयसम्म स्वार्थ समूहलाई उक्त रकम प्रयोग गर्न दिएको आरोप सीआईबीको छ ।
प्रभु बैंकलाई आठ करोड ९३ लाख १९ हजार नौ सय ८६ रुपैयाँ हानी नोक्सानी पु¥याएको तथा सोही अपराधलाई लुकाउन कर्जा प्रवाह गरी कर्जा दुरुपयोग गर्ने÷गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनमाथि समेत अनुसन्धान चलिरहेको छ । अनुसन्धानकै क्रममा रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंक लि.लाई हानी र आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाइदा हुनेगरी रेमिटबापतको ‘प्रि–फन्डिङ’ दिन सक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरी प्रि–फन्डिङको नाममा नियमविपरीत रकम दिएको आरोप शाक्यमाथि लागेको छ ।
सोबापत नियमानुसार ब्याज समेत नलिई प्रभु बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी रकम उनले हानी पु¥याएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा देखिएकोले थप कसुरमा शाक्यलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ ।