ब्रिस्बेन । अस्ट्रेलिया १६ वर्षमुनिका किशोरकिशोरीलाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ । बुधबारदेखि अस्ट्रेलियाले उक्त प्रतिबन्ध लगाएको हो ।
रोयटर्सका अनुसार उक्त निर्णयको परिवारले स्वागत गरे पनि प्रविधि कम्पनीहरू र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरूले भने आलोचना गरेका छन् । मध्यरातबाट कार्यान्वयनमा ल्याइएको सो प्रतिबन्धमा टिकटक, अल्फाबेटको युट्युब र मेटाको इन्स्टाग्राम तथा फेसबुक उक्त उमेर समूहको मोबाइलमा नचल्ने बनाइएको छ । यी कम्पनीहरूलाई उक्त प्रतिबन्ध कार्यान्वयन गर्न वा ४ करोड ९५ लाख अस्ट्रेलियाली डलर जरिबानाको सामना गर्न भनिएको छ ।
नयाँ कानुन लागू गरी यो प्रतिबन्ध लगाइएको हो । अस्ट्रेलियाको यो निर्णयलाई विश्वभर चासो दिइएको एजेन्सीहरूले उल्लेख गरेका छन् । प्रधानमन्त्री एन्थनी अल्बानिजले यसलाई परिवारका लागि गर्विलो दिन भन्दै नीतिनिर्माताहरूले अनलाइनबाट सिर्जना हुने हानि रोकथाम गर्न सक्ने एउटा प्रमाणका रूपमा उल्लेख गरेका छन् ।
‘यसले ठूलो फरक ल्याउनेछ । यो ठूलो सामाजिक र सांस्कृतिक रुपान्तरणमध्ये एक हो । जुन हाम्रो देशले सामना गरिरहेको छ’, उनले बुधबार पत्रकार सम्मेलनमा भने । उनले अस्ट्रेलियाको यो कदमको विश्वमा पनि अनुसरण हुने दाबी गरेका छन् । एक भिडिओ वक्तव्य समेत जारी गरेका उनले बालबालिकाहरूलाई नयाँ खेल, नयाँ साधन पहिल्याउन वा पुस्तक पढ्न आह्वान गरेका छन् ।
तर १६ वर्षमुनिका केहीले भने सरकारी निर्णयप्रति चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालविना दैनिक जीवन अप्ठ्यारो हुने उनीहरूको तर्क छ । तर केहीले भने यसप्रति खासै चासो नदिएको बताइएको छ । ‘म साँच्चै यसप्रति धेरै चिन्तित छैन’, १४ वर्षीया क्लायर निले भनिन्, ‘म यसमा तटस्थजस्तै छु ।’
१५ वर्षीया लुना डिजोन भने अझै पनि आफूले टिकटक, इन्स्टाग्राम र स्न्यापच्याट अकाउन्टहरूमा पहुँच पाइरहेको बताइन् । यद्यपि प्रतिबन्धको पूर्ण कार्यान्वयनले भने सांस्कृतिक दोधार सिर्जना गर्ने उनको चिन्ता छ । ‘अन्ततः सामाजिक सञ्जालविना हामीले यसलाई कसरी स्वीकार्ने सिक्नेछौँ’, उनले थपिन् ।
प्रतिबन्ध लागू भएकै दिन टिकटकमा दुई लाख अकाउन्टहरू ब्लक भएका छन् भने अबका केही दिनमा अझै लाखौँ अकाउन्टहरू ब्लक हुने बताइएको छ ।