काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले काठमाडौं बिजनेस एक्स्पो गर्न लागेको छ । संघले माघ १४ गतेदेखि १७ गतेसम्म हुने काठमाडौंको ऐतिहासिक स्थान भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा एक्स्पो गर्न लागेको हो ।
संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘काठमाडौं महोत्सव २०८२ – काठमाडौं बिजनेस एक्स्पो २०२६’ व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्ने तयारी गरेको जानकारी दिएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले काठमाडौं उपत्यकाको पहिचानलाई अझ सबल बनाउन, स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न तथा उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगहरूलाई बजार, अवसर र दृश्यता प्रदान गर्न महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।
करिब दुई सय अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिनेछ । यसमा एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।
महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ बिस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ । स्वदेशी औद्योगिक उत्पादन कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स/होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन र मेसिनरी, फर्निचर, फुड एन्ड बेभरेज, सूचना प्रविधि, ट्राभल एन्ड टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था र जिल्लागत विशेष उत्पादनजस्ता विविध व्यवसायिक क्षेत्रहरूबाट समेत महोत्सवमा सहभागीता रहनेछ । यसले महोत्सवलाई वृहत् राष्ट्रिय व्यापारिक मञ्चमा रूपान्तरण गर्ने आयोजकको विश्वास छ ।
महोत्सवमा सर्वसाधारण, उद्यमी, व्यवसायी, युवा–उद्यमी, विद्यार्थी, स्टार्टअपहरू, पर्यटक, फुड–लवर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता हुने आयोजकले जनाएको छ । महोत्सवको लागि विभिन्न शिर्षकमा स्पोन्सर, पाटर्नर तथा विशेष सपोर्टिङ प्याकेजसहितका प्रायोजन अवसरहरू खुल्ला गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।