काठमाडौँ । राष्ट्रिय युवा परिषद्द्वारा शुक्रबार आयोजित ‘सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद’ विषयक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा जोड दिएका छन् । साथै उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताए ।
मन्त्री खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौतामा जनआन्दोलनको मान्यता दिइसकिएकाले त्यस आन्दोलनलाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने बताएका हुन् ।
उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद अपुरो हुने भन्दै युवा नेतृत्वमा आउनुपर्नेमा जोड दिए । उनले नेपाली राजनीतिमा अब युवाको दबदबा हुनेवाला भएको र त्यसलाई कसैले रोकेर नरोकिने भनाइ व्यक्त गरे । युवाले केही गर्न सक्दैनन् भन्ने भ्रम जेनजी आन्दोलनले तोडिदिएको मन्त्री खरेलले बताए ।
खरेलका अनुसार आजको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवा पुस्ताकै हो । आन्दोलनमा युवाको भूमिका सधैभरी रहँदै आएको छ र परिवर्तनका लागि युवा पुस्ताले बलिदान दिन सक्छन् भन्ने जेनजी पुस्ताहरुले देखाइदिसकेका छन् ।
उनले अब युवा कुनै वादको बन्धक नभई अधिकार लिने र देश बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । सञ्चार क्षेत्रले पनि यस आयामलाई बोक्न सक्नुपर्ने बताउँदै मन्त्री खरेलले मुलुक परिवर्तनको बाटोमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।