काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले मंसिर ७ गतेदेखि १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट भएको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो । यो सेयर खरिदका लागि कुल ६२ हजार नौ सय ६८ जनाले २१ लाख आठ हजार आठ सय २० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २१ आवेदन रद्ध भएको छ भने ६२ हजार नौ सय ४७ आवेदन स्वीकृत भएको छ । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् भने १० कित्ताभन्दा बढी आवेदन दिने ४२ हजार आठ सय ८२ आवेदकमध्ये ३७ हजार ५३ जनाले थप १० कित्ता अर्थात् २० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेको कम्पनीको भनाइ छ ।