काठमाडौं,नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई शनिबार हाइकिङमा गएका बेला नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उपत्यकामै चम्पादेवी क्षेत्रमा हाइकिङ गएका उनी अचेत भएर ढलेपछि सेनाको हेलिकप्टरले उद्धार गरेको हो । उनलाई उद्धारपछि धापासीमा रहेको ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचारका लागि लगिएको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले काठमाडौँको हाइकिङ गएका बेला अस्वस्थ भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्राण्डी अस्पताल लगिएको जानकारी दिए ।
इन्टेन्सिभ केयर युनिट (आईसीयू)मा उनको उपचार भएको छ । अस्पतालका अनुसार उनलाई हृदयाघात भएको थियो भने मुटुको अपरेसन गरिएको छ । मुटुको देब्रे नशामा समस्या देखिएपछि स्टेन राखेर ब्लकेज खोलिएको छ । भारतीय दूतावासका दुई अन्य अधिकृतसँगै हाइकिङ गएका उनी ढलेलगत्तै नेपाल प्रहरीको टोली उद्धारका लागि खटिएको थियो । अवस्था गम्भीर देखिएपछि हेलिकोप्टरबाट उद्धार गरेर अस्पताल लगिएको हो । रक्तप्रवाह नशामा ब्लक भएको पाइएपछि अपरेसन गरिएको थियो ।