काठमाडौं । जेन–जी आन्दोलनको मुख्य तारो बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । बन्दसत्र भने आइतबारदेखि काठमाडौंका भृकुटीमण्डपमा हुनेछ । उद्घाटन सत्रमा देशभरबाट करिब लाख बढी सहभागी भएको एमालेको दाबी छ । एमालेको प्रदर्शनमा भएको उपस्थितिले पुराना राजनीतिक दलहरुप्रति अझै पनि जनताको समर्थन राम्रै रहेको देखिएको छ । जेन–जी आन्दोलनपछि एमालेका धेरै नेता र कार्यकर्ताले पार्टी छाडेको अनुमान गरिएको बेला शनिबारको उपस्थितिलाई राम्रै मान्न सकिन्छ ।
उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा दुई सयभन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिएको थियो । महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएकोमा कुनै पनि ठूला दलका अध्यक्ष वा प्रमुख उपस्थित भएनन् । महाधिवेशन सम्पन्न गर्न एमालेको २४ वटा जनसंगठनको प्रतिनिधित्व रहने गरी पाँच सय बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिएका थिए । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिएको थियो । धुलो चौरमा कार्यक्रम आयोजना गरिएको कारण ठूलो समूह चौरभन्दा बाहिर सडकको सर्भिसलेनमा बसेका थिए ।
टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका थिए । तीन किलोमिटर परसम्म सुन्न सकिने एक सय १५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्चअगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको थियो । महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिएको थियो । त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गरेका थिए ।
एक वर्षअघि भएको एमालेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या घटाएको कारण नेताहरूको व्यवस्थापनमा समस्या छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । यद्यपि ओलीले आफू अध्यक्षमा उठ्ने घोषणा भने गरिसकेका छैनन् । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदान गराउने तयारी छ । त्यसका लागि दुई दिन लाग्ने अनुमान गरिएको छ ।