जकार्ता । इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघेको उल्लेख गर्दै दुई सय १८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी)ले शनिबार जनाएको छ । एजेन्सीका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने उद्धार कार्य अझै जारी रहेको छ ।
बीएनपीबीको तथ्यांकअनुसार करिब एक हजार दुई सय सार्वजनिक सुविधाहरूका साथै दुई सय १९ स्वास्थ्य सुविधाहरू, पाँच सय ८१ शैक्षिक सुविधाहरू, चार सय ३४ मन्दिरहरु दुई सय ९० कार्यालय भवनहरू र एक सय ४५ पुलहरू क्षतिग्रस्त भएका छन् । यसैबीच, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले शुक्रबार आचेहको विपत् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायको विभिन्न आधारभूत आवश्यकताहरू पूरा गर्न काम गरिरहेको बताएका छन् ।
विपत्को समयमा सबैले मिलेर स्थितिमा सुधार गर्ने आशा व्यक्त गर्दै सरकारले आवाश्यक सहयोग गर्ने प्रबोवोले बताएका छन् । उनले सबै नागरिकहरूलाई स्थिर रहन र सामान्यीकरणको प्रक्रियामा आफ्नो उत्साह कायम राख्न आह्वान गर्दै बालबालिकाका लागि पढाइ र सिकाइलगायत सामुदायिक गतिविधिहरू चाँडै सामान्य अवस्थामा फर्कन सक्ने आशा व्यक्त गरेका छन् ।